काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले तराई तथा मधेस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग समसामयिक विषयमा छलफल गरेका छन् । छलफलमा तराई–मधेसबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रमा थप हिंसा फैलिन नदिन प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्।
उनीहरूले थप हिंसा फैलिन नदिन सरोकारवालासँगको संवादलाई निरन्तरता दिने, सामाजिक सञ्जालमा अफवाह फैलाउने तथा सामाजिक सद्भावमा खलल पुर्याउनेमाथि सूक्ष्म निगरानी गर्ने बताएका छन्।
छलफलमा धनुषा–३ का सांसद मनिष झाले गलत सूचना प्रवाह गर्नेलाई प्रेस काउन्सिलमार्फत कारबाहीको दायरामा ल्याउनुपर्ने, १२ देखि २२ वर्ष उमेर समूहका युवालाई लक्षित गरी सामाजिक सद्भावका सन्देश तयार गर्नुपर्ने धारणा राखे।
छलफलमा सांसदहरू रहबर अन्सारी, नीतिमा भण्डारी (कार्की), रविन्द्र पटेल, मनिष झा, रविन महतो, राजकिशोर महतो, गणेश धिमाल, चन्दन सिंह, विक्रम थापा, मोहनलाल आचार्य र गजाला शमिम मिकरानी लगायतको उपस्थिति रहेको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा तराईमधेस क्षेत्रमा विकसित पछिल्ला घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थितिका बारेमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।














