सद्भाव नबिगार्न डा. कोइरालाको अपिल



काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले तराई(मधेस क्षेत्रमा पछिल्लो समय विकसित भएका संवेदनशील र हिंसात्मक घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गर्दै सम्पूर्ण पक्षलाई संयमित हुन अपिल गरेका छन्।

नेता कोइरालाले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक साझा फूलबारी भएको स्मरण गराउँदै विविधताबीचको बलियो एकता नै मुलुकको वास्तविक शक्ति र पहिचान भएको बताएका छन्।

कुनै पनि किसिमको आवेग, उत्तेजना र हिंसाले समाजलाई फाइदा नपुर्‍याउने उल्लेख गर्दै उनले वर्तमान जटिल परिस्थितिमा उच्च संयम, विवेक र आपसी संवादको बाटो रोज्न आग्रह गरेका छन्। देशलाई मुठभेडतर्फ जान नदिन राजनीतिक नेतृत्व, धार्मिक गुरु तथा नागरिक समाजले शान्ति, सहिष्णुता र सद्भाव कायम राख्न जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिएका छन्।

सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरूमा घृणा र विद्वेष फैलाउने किसिमका सामग्रीलाई पूर्णरूपमा निरुत्साहित गर्दै समाजलाई जोड्ने सकारात्मक सन्देश मात्र प्रवाह गर्न पनि उनले सबैलाई आग्रह गरेका छन्।

मधेसका विभिन्न जिल्लामा भएका झडपका क्रममा ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै डा। कोइरालाले घाइते भएका सुरक्षाकर्मी तथा आन्दोलनकारीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै, घाइतेहरूको उचित र सम्पूर्ण उपचारको व्यवस्था मिलाउन राज्यले कुनै पनि कसर बाँकी राख्न नहुने धारणा उनले व्यक्त गरेका छन्।

नेपालको विविधतामा एकता नै राष्ट्रिय शान भएको दोहोर्‍याउँदै उनले सामाजिक सद्भावको कडीलाई थप मजबुत बनाउन सबै नागरिक तथा राजनीतिक शक्तिहरूलाई एकजुट हुन आह्वान गरेका छन्।

प्रकाशित मिति : श्रावण १५, २०८३ शुक्रबार  ५ : ५२ बजे