मधेस घटनाका सन्दर्भमा कुनै ठोस सम्झौता भएको छैन : मन्त्री पोखरेल



काठमाडौं । सरकारले सुनसरी र मधेस प्रदेशमा भएका घटनाका सन्दर्भमा गृहमन्त्रीद्वारा कुनै विशेष वा ठोस सम्झौता नभएको स्पष्ट पारेको छ ।

मंगलवार सञ्चारकर्मीहरूसँगको भेटघाटका क्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गृहमन्त्रीको भ्रमण र विभिन्न पक्षसँग भएका भनिएका सहमतिबारे सरकारको धारणा सार्वजनिक गरेका हुन् ।

मन्त्री पोखरेलले गृहमन्त्री सुधन गुरुङले प्रभावित क्षेत्रका विभिन्न सरोकारवालाहरूसँग भेटघाट गरी वस्तुस्थितिको बारेमा जानकारी लिएको र समस्या समाधानका लागि संवाद गर्न सरकार तयार रहेको सन्देश मात्र दिएको बताए ।

हालका लागि आन्दोलनरत पक्षका मागहरू र समग्र शान्ति सुरक्षाको अवस्थाबारे संवादको ढोका मात्र खुला राखिएको र कुनै ठोस सहमति भइनसकेको सरकारको भनाइ छ।

मन्त्री पोखरेलले भदौ २४ गतेको घटनाको छानबिनका लागि आयोग गठनको विषय सरकारले नछोडेको समेत स्पष्ट पारे ।

“२४ गतेको घटनाको छानबिनका लागि आयोग बनाउने विषयमा राजनीतिक तहबाट निर्णय भइसकेको छ,” मन्त्री पोखरेलले भने, “कस्तो आयोग बन्छ र कसरी काम गर्छ भन्ने प्राविधिक विषय पनि प्रष्ट भएपछि अर्को भेटमा सबै बताउन सकिन्छ ।”

प्रकाशित मिति : श्रावण १९, २०८३ मंगलबार  ७ : ३९ बजे