आर्थिक रुपान्तरणका लागि ‘नीतिगत आत्मविश्वास’ आवश्यक छ: अर्थमन्त्री वाग्ले



काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक रुपान्तरण र संरचनागत सुधारका लागि ‘नीतिगत आत्मविश्वास’ अनिवार्य रहेको बताएका छन् ।

बुधवार सिंहदरबारमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँगको छलफलमा उनले यस्तो बताएका हून् ।

निजी क्षेत्र र बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँगको हालैको छलफललाई उद्धृत गर्दै अर्थमन्त्री वाग्लेले निजी क्षेत्रले केवल सहुलियत मात्र नभई स्पष्ट नीति, स्थिर नियम, शीघ्र निर्णय र विश्वसनीय कार्यान्वयन खोजिरहेको उल्लेख गरे ।

अर्थमन्त्री वाग्लेले भने, ‘किन निजी क्षेत्र क्रमशः प्रतिरक्षात्मक बन्दै गयो ? किन बैंकमा तरलता हुँदाहुँदै पनि उद्योगमा कर्जा पुग्न सकेन ? र किन उत्पादन र उत्पादकत्वले अपेक्षित गति लिन सकेन ? हामी समस्या व्यवस्थापन गर्ने नियामक मात्रै हौँ कि समस्या समाधान गर्ने नियामक पनि हौँ ? हाम्रो नियमनले नवप्रवर्तनलाई रोकिरहेको छ कि प्रोत्साहन गरिरहेको छ ? यसमा गम्भीर आत्मसमीक्षा आवश्यक छ । यदि सरकार, राष्ट्र बैंक, बैंकिङ प्रणाली र निजी क्षेत्र एउटै आत्मविश्वासका साथ अघि बढेमा आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न कठिन छैन ।’

अर्थमन्त्री वाग्लेले राष्ट्र बैंकलाई केवल नियामक संस्थाका रूपमा मात्र नभई आर्थिक रुपान्तरणको ‘सहयात्री र सह–निर्माता’ का रूपमा हेर्न चाहेको बताए ।

प्रकाशित मिति : श्रावण २०, २०८३ बुधबार  ११ : ३३ बजे