काठमाडौँ । नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान संविधान जारी भएको एक दशक पुग्न लागेको सन्दर्भमा यसको समीक्षा र आवश्यक परिमार्जन गर्नुपर्ने बताएकाँ छन् ।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई शुक्रवार सम्बोधन गर्दै नेता आङदेम्बेले संविधानको पुनर्लेखन भन्दा पनि यसको कार्यान्वयनका क्रममा देखिएका जटिलताहरूलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका हून् ।
आङदेम्बेले संविधान कार्यान्वयनको १० वर्षमा आदिवासी जनजाति, महिला, दलित, मधेसी, अल्पसङ्ख्यक, मुस्लिम र थारु समुदायले भोग्नुपरेका अप्ठ्याराहरूलाई पहिचान गरी संशोधनमार्फत समाधान खोजिनुपर्ने बताए ।
पछिल्लो समय लोकप्रियताका नाममा संविधानका विरुद्ध भ्रामक अभिव्यक्ति दिने र समाजमा जातीय द्वन्द्व निम्त्याउन खोज्ने प्रवृत्ति बढेको भन्दै उनले चिन्ता व्यक्त गरे ।
जिम्मेवार तहमा रहेका र नरहेका कतिपय व्यक्तिहरूले जनभावनासँग खेलेर मुलुकलाई अस्थिरतातर्फ धकेल्न खोजेको उनको आरोप छ । यस्ता पात्र र प्रवृत्तिहरूप्रति आदिवासी जनजाति समुदाय विशेष सचेत रहनुपर्ने उनले उल्लेख गरे ।









