काठमाडौँ । रातभर परेको अविरल वर्षाका कारण आएको लेदो तथा पहिरोले बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। राजमार्गका विभिन्न खण्डमा पहिरो खसेपछि यातायात सञ्चालन पूर्ण रूपमा प्रभावित बनेको प्रहरीले जनाएको छ।
अहिलेसम्म पहिरोले कति स्थानमा अवरोध पुर्याएको छ भन्ने यकिन भइनसकेको भए पनि खसेका स्थानहरूमा सडक खुलाउन पहिरो पन्छाउने काम सुरु भइसकेको छ। विशेषगरी राजमार्गअन्तर्गत नार्के क्षेत्रमा माथिबाट आएको लेदो र पहिरोले सडक ठूलो मात्रामा पुलेको छ भने वर्षा नरोकिएका कारण थप पहिरो जाने उच्च जोखिम रहेको छ।
राजमार्ग अवरुद्ध भएपछि काठमाडौंबाट पूर्वतर्फ जाने सवारीसाधनहरू भकुण्डेमा र पूर्वबाट काठमाडौं आउँदै गरेका सवारीसाधनहरू खुर्कोटमा बाटोमै रोकिएका छन्। वर्षाका कारण पहिरो झर्ने क्रम नरोकिएकाले सडक खुलाउन केही समय लाग्न सक्ने देखिएको छ।
सतर्कता अपनाउन आग्रह गर्दै काभ्रे र सिन्धुली प्रहरीले यात्रुहरूलाई यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न तथा सम्भव भएसम्म अनावश्यक यात्रा नगर्न अनुरोध गरेका छन्।









