सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय तत्काल पुनरावलोकन नहुने



काठमाडौं । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने हालको व्यवस्थालाई तत्काल पुनरावलोकन नगर्ने स्पष्ट पारेको छ।

बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट जवाफ दिँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले हाललाई दुई दिने सार्वजनिक बिदा व्यवस्था परिवर्तन गर्ने कुनै गृहकार्य नभएको बताइन्।

मन्त्री गौतमले अन्तर्राष्ट्रिय अभ्यास र मुलुकको आन्तरिक आवश्यकतालाई ध्यानमा राखेर सातामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू गरिएको बताइन्। उनका अनुसार तत्कालीन समयमा इन्धन आपूर्तिमा देखिएको असहजताका कारण इन्धन खपत घटाउन तथा सार्वजनिक प्रशासनलाई थप परिणाममुखी बनाउन २०८२ चैत २३ गतेदेखि यो व्यवस्था कार्यान्वयनमा ल्याइएको हो।

उनले कर्मचारीको कार्य–जीवन सन्तुलन, ऊर्जा तथा प्रशासनिक खर्चमा मितव्ययिता र आन्तरिक पर्यटन प्रवर्द्धनका दृष्टिले दुई दिने बिदा प्रभावकारी देखिएको दाबी गरिन्।

मन्त्री गौतमका अनुसार बिहान ९ बजेदेखि कार्यालय सञ्चालन हुने प्रावधानले सेवाग्राहीलाई समेत सहज भएको छ। यसले कर्मचारीको मनोबल र कार्यक्षमतामा सकारात्मक प्रभाव पारेको तथा आन्तरिक पर्यटकको संख्या बढेकाले स्थानीय अर्थतन्त्रमा समेत टेवा पुगेको सरकारको भनाइ छ।

प्रकाशित मिति : श्रावण २८, २०८३ बिहीबार  ४ : २६ बजे