बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका–९, ताम्सुमा पहिरोमा परी बेपत्ता भएका र घाइतेको पहिचान खुलेको छ । बेपत्ता हुनेमा त्रिवेणी नगरपालिका–९ की २० वर्षीया प्रतीक्षा थापा रहेकी छन् ।
पहिरोमा परेर स्थानीय धर्म थापा र धौलीदेवी रावल घाइते भएका छन् । थापाको बायाँ खट्टा र शरीरमा चोट छ । रावलको टाउको, खुट्टा र शरीरमा चोट रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेशबहादुर शाहीले जानकारी दिए । घाइते दुवैजनालाई उपचारका निम्ति जिल्ला अस्पताल मार्तडी ल्याइएको उनले बताए ।
अविरल वर्षापछि खसेको पहिरोमा परी स्थानीय धर्म थापा र कर्णबहादुर थापाको घर पूर्ण रूपमा क्षति भएको छ ।
बेपत्ता थापाको खोजी गर्न प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वमा टोली खटिएको छ । खोजीकार्य तथा उद्धारमा सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीय समेत खटिएका छन् । रासस









