पछिल्लो २४ घण्टामा प्राकृतिक प्रकोपका घटनमा १३ को मृत्यु, पाँच जना बेपत्ता



काठमाडौँ। नेपालमा मनसुनी विपद् तथा अन्य प्राकृतिक प्रकोपका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन्।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको विवरणअनुसार देशका ४३ जिल्लामा ५२ वटा विपद्का घटना घटेका छन्, जसबाट ४३ जना नागरिक घाइते भएका छन्।

प्राधिकरणको तथ्याङ्कअनुसार विशेषगरी पहिरोका कारण मात्र १० जनाको ज्यान गएको छ। विपद्का कारण देशभर १२ स्थानमा सडक आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ भने करिब ६ लाख ४७ हजार रूपैयाँ बराबरको प्रारम्भिक भौतिक क्षति भएको छ। प्रभावित क्षेत्रमा उद्धार तथा प्रतिकार्यका लागि २६१ जना प्रहरी जनशक्ति परिचालन गरिएको र हालसम्म २ जनाको सकुशल उद्धार गरिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा स्याङ्जाको पञ्चमुल केन्द्रमा सबैभन्दा बढी १५२।९ मिलिमिटर वर्षा रेकर्ड भएको छ। यस अवधिमा चितवनको रामपुरमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस पुगेको छ भने मुस्ताङको लेतेमा सबैभन्दा कम २०.६ डिग्री सेल्सियस मापन गरिएको छ। न्यूनतम तापक्रमतर्फ मोरङको विराटनगरमा २८डिग्री सेल्सियस र मुस्ताङको थाकमाफाप/मार्फामा ८.८ डिग्री सेल्सियस रेकर्ड भएको छ।

चालु आर्थिक वर्षको साउन २९ गतेसम्मको अवधिमा देशभर जम्मा ४ हजार ६ सय ५९ वटा विपद्का घटना भएका छन्। यस अवधिमा २२९ जनाले अकालमै ज्यान गुमाएका छन् भने ९ जना अझै बेपत्ता छन्। साथै, १ हजार ४ सय ६३ जना घाइते हुनुका साथै कुल ५ हजार ७ सय ९ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। यस चार महिनाको अवधिमा सबैभन्दा बढी मानवीय क्षति सर्पदंश र पहिरोका कारण भएको प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति : श्रावण ३०, २०८३ शनिबार  ९ : ३९ बजे