काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूह १५औं महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालत जाने भएको छ ।
पार्टीले आधिकारिकता सम्बन्धी विवाद विचाराधीन रहेको अवस्थामै महाधिवेशनको कार्यतालिका संशोधन गरेर सार्वजनिक गरेपछि इतर समूह सर्वोच्च जाने भएको हो ।
सर्वोच्च अदालतमा पार्टीको विवादसम्बन्धी मुद्दा विचाराधीन रहेकाले त्यसको टुंगो नलागेसम्म महाधिवेशन प्रक्रिया अघि बढाउन नमिल्ने देउवा पक्षका नेता मीन विश्वकर्माले बताएका छन्।
उनका अनुसार महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा जाने तयारी भइरहेको छ। आवश्यक कानुनी तयारीका लागि नेताहरूले काम गरिरहेको र सम्भव भएसम्म बुधबार नै अदालत जाने प्रयास भइरहेको उनले बताए। आज सम्भव नभए एक–दुई दिनभित्र मुद्दा दायर हुन सक्ने उनको भनाइ छ।
यसअघि देउवा समूहको भेलाले पार्टी सभापति गगन थापालाई अस्वीकार गर्दै १५औँ महाधिवेशन शेरबहादुर देउवाकै नेतृत्वमा गर्नुपर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार समूहले महाधिवेशन प्रक्रिया र नेतृत्वसम्बन्धी विवादलाई लिएर कानुनी चुनौती दिने तयारी गरेको हो।









