रसुवा बाढीः कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन



महेन्द्रनगर, भदौ ११ । रसुवामा आएको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि कञ्चनपुर घर भएका २४सम्पर्कविहीन भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बुधबारसाँझ बाढी प्रभावित स्थानमा रहेका हालसम्म सम्पर्कमा नआएका व्यक्तिहरुका सम्बन्धमा खोजी तथा उद्धारका लागि जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा जानकारी गराउन सूचना जारी गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले बाढी प्रभावित क्षेत्रमा रहेका कञ्चनपुरका २४ जनाका आफन्तले प्रहरीका खोजीकार्यका लागि सम्र्पक गरेको बताए ।

“प्रभावित क्षेत्रमा कार्यरत सेना, प्रहरी, कर्मचारी र जलविद्युत् आयोजनामा कार्यरत मजदुरका आफन्तहरुले सम्र्पक गरेर खोजीकार्यका लागि आग्रह गरेका छन्”, प्रवक्ता रावतले भने, “हामीले सम्पर्कविहीन भएका नागरिकको विवरण सङ्कलन गरेर प्रहरी प्रधान कार्यालय पठाइरहेका छौँ ।”

जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म यहाँको भीमदत्त नगरपालिकाका छ जना, बेलौरी नगरपालिकाका तीन जना, कृष्णपुरका पाँच जना, शुक्लाफाँटा नगरपालिकाका सात जना, लालझाडी गाउँपालिकाका एक र बेदकोट नगरपालिकाका दुई जना बाढी प्रभावित क्षेत्र रसुवाबाट सम्पर्कविहीन छन् ।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सूचना जारी गरेपछि डडेल्धुराका एक र बैतडीका दुई जनाका आफन्तले पनि सम्पर्क गरेको जनाएको छ । “सम्पर्कविहीन व्यक्तिका आफन्तले दिएको विवरणअनुसार धेरैजसो हाइड्रोमा काम गर्ने मजदुर, नेपाली सेनाका दुई, नेपाल प्रहरीका एक र भन्सार र वन कर्मचारीलगायत छन्”, प्रवक्ता रावतले भन्नुभयो, “खोजीमा सहज होस् भनेर हामीले जिल्लामा विवरण सङ्कलन गरेका हौँ ।”

रसुवामा आएको बाढीका कारण समस्यामा परेका यहाँका नागरिकको खोज तथा उद्धारका लागि स्थानीय प्रशासनले पनि सक्रियता देखाएको छ ।

त्यसैगरी, कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ बडैपुरका नरेश दत्त जोशीका आफन्तले बुधबार बिहानदेखि खोजीका लागि पहल गरिदिन आग्रह गरिरहेका छन् ।

टिमुरे भन्सार कार्यालयमा कार्यरत जोशीका आफन्तले दिएको जानकारी अनुसार उहाँसित बुधबार बिहान ७ः३० बजे टेलिफोन सम्पर्क भएको थियो । “टिमुरे भन्सारमा दुई वर्षदेखि कार्यरत हुनुहुन्थ्यो”, जोशीका छोरी ज्वाइँ टीका भट्टले भन्नुभयो, “बुधबारदेखि परिवारका सदस्यहरु सम्पर्क हुने आशामा छौँ ।” रासस

प्रकाशित मिति : भाद्र ११, २०८३ बिहीबार  १० : २८ बजे