काठमाडौं । मुलुकमा आइपरेको पछिल्लो प्राकृतिक विपत्तिको सामना गर्न संसद्मा रहेका र बाहिर रहेका राजनीतिक दलहरूले साझा संकल्प र एकता प्रदर्शन गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा आयोजित सर्वदलीय बैठकमा सहभागी दलहरूले विपद् व्यवस्थापन, खोज तथा उद्धारमा सरकारलाई पूर्ण सहयोग गर्ने र दीर्घकालीन पुनर्निर्माणका लागि संसदीय संयन्त्र बनाउने निर्णय गरेका हुन् ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विपत्तिको समयमा सबै दलहरू एकै ठाउँमा उभिने विगतको परम्परालाई कायम राख्दै वर्तमान संकट समाधानमा लाग्ने प्रतिवद्धता व्यक्त गरे ।
उनकाअनुसार बैठकमा सरकारको तर्फबाट भइरहेको खोज, उद्धार र राहतका प्रारम्भिक कार्यबारे जानकारी गराइएको थियो भने दलहरूले प्राप्त गरेका सूचनाहरू सरकारलाई हस्तान्तरण गरिएको थियो ।









