काठमाडौं । रसुवा बाढी प्रभावितको सहयोगका लागि प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुको एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन् ।
शुक्रवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
उनकाअनुसार बैठकले नेपाल–चीन सीमा क्षेत्र रसुवागढी, भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित व्यक्ति र व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनःस्थापना प्याकेज ल्याउन अर्थ मन्त्रालयलाई निर्देशन पनि दिएको छ ।
उनले भारत सरकारसँग जीटुजी खरीद माध्यमबाट २५ हजार मेट्रिक टन डीएपी मल खरीद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय भएको पनि जानकारी दिए ।









