काठमाडौं । नेपाली सेनाले रसुवा बाढीका कारण भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा रहेका जलविद्युत आयोजनाका सुरुङमा १ सय २१ जना मात्रै फसेको बताएको छ ।
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणमा सोमवार आयोजित कार्यक्रममा नेपाली सेनाका नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले उक्त जानकारी दिएका हुन् ।
उनका अनुसार रसुवागढीमा ५, लाङटाङमा ७, चिलिमेमा ७, अपर त्रिशूली–१ मा करिव ५०, त्रिशुली ३ ए मा करिव ४२ गरी १२१ जनाको हाराहारीमा टनेल भित्र रहेका छन् ।
त्रिशूली ३ बी मा हराएका सबै व्यक्ति टनेलभित्र प्रवेश गरेका व्यक्ति नभएको उनले बताए । विभिन्न परियोजनासँग आवद्ध सबै व्यक्ति टनेलभित्र फसेको भनेर बुझ्न नहुने उनले उल्लेख गरे ।
परियोजनामा काम गर्नेहरु ९ सय भन्दा बढी सम्पर्कविहीन भएको भएपनि ती सबै टनेलभित्र भने नरहेको उनको भनाई छ ।
सहायक रथी थापाले सरकारले औपचारिक रूपमा काम रोक्ने निर्णय नगरेसम्म सुरुङमार्गमा बेपत्ताहरूको खोजी कार्य जारी रहने बताउँदै हालसम्म रसुवागढी जलविद्युत् आयोजनामा उद्धार टोली र आयोजनाका प्रतिनिधिहरू पावरहाउस तथा कन्ट्रोल प्वाइन्ट (नियन्त्रण कक्ष) सम्मै पुगेर खोजी कार्य अघि बढाएको जानकारी दिए। नेपाली सेनाले विपद् प्रभावित क्षेत्रमा भइरहेको उद्धारलाई हवाई, जमिन र टनेल गरी तीनवटा मुख्य क्षेत्रमा विभाजन गरेर काम गरिरहेको छ।









