काठमाडौँ । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले आज (बुधबार) बिहान ६ः३० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई उच्च सतर्कता अपनाउन र यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्र वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।
प्रहरीको विवरणअनुसार काठमाडौँ र धादिङको सिमानास्थित चन्द्रागिरि नगरपालिका–२ चिसापानीमा पहिरोका कारण अवरुद्ध बनेको सडक खण्ड हाल एकतर्फी रूपमा सञ्चालनमा आएको छ। त्यस्तै, पृथ्वी राजमार्ग अन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–१० स्थित ज्वाङखोला र गजुरी गाउँपालिका–२ स्थित चालिसे सडक खण्ड पनि एकतर्फी सुचारु भएका छन्।
तर, अन्य धेरै ठाउँमा यातायात सञ्चालनमा अझै ठूलो कठिनाई उत्पन्न भएको छ। बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा जोखिमलाई मध्यनजर गर्दै सवारी सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्मको समयमा पनि वस्तुस्थिति र सुरक्षाको मूल्यांकन गरेर मात्रै सवारीसाधन सञ्चालन गरिने प्रहरीले जनाएको छ।
यसैगरी, रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा आएको बाढीका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेसी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध रहेको छ। बाढी र पहिरोको उच्च जोखिम भएका अन्य मुख्य राजमार्गहरू अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रूपमा बन्द राखिएका छन्।
यसैबीच, सम्भावित दुर्घटनाबाट बच्न शिवपुरी गाउँपालिका–८ टोखा–छहरे सडक खण्डमा रात्रिकालीन समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। राति १० बजेदेखि बिहान ५ बजेसम्म सो खण्डमा सवारी चलाउन निषेध गरिएको प्रहरीले जनाएको छ। प्राकृतिक प्रकोपका कारण सडक सञ्जाल प्रभावित बनेकाले अत्यावश्यक बाहेकका यात्रा नगर्न र सुरक्षा निकायका निर्देशन पालना गर्न सम्बन्धित सबैमा अपिल गरिएको छ।










