काठमाडौं । रसुवा बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा मानवीय क्षति १ हजार ३ सय ६७ पुगेको छ ।
गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले बुधवार बिहान ११ बजे सार्वजनिक गरेको खोज, उद्धार तथा राहतसम्बन्धी अपडेटअनुसार विभिन्न जिल्लाबाट हालसम्म १ हजार ३६७ जनाको मृत्यु भएको विवरण प्राप्त भएको हो ।
प्राधिकरणकाअनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन् । चितवनमा ३६३, नुवाकोटमा १९७, रसुवामा १७४, नवलपरासी पश्चिममा २२२, नवलपरासी पूर्वमा २२६, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ शव फेला परेका छन् ।
काठमाडौंमा उपचारका क्रममा रहेका दुई जनाको पनि मृत्यु भएको उल्लेख छ । हालसम्म १०२ वटा शवको सनाखत गरी आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ ।










