मध्यपूर्व युद्धमा पाकिस्तान पनि मुछिने खतरा, मक्का रक्षा सम्झौता सक्रिय हुनसक्ने रक्षामन्त्री आसिफको चेतावनी



काठमाडौं । यमनका हूती विद्रोहीले साउदी अरबमाथि गरेको पछिल्लो आक्रमणपछि मध्यपूर्वको जारी द्वन्द्वमा पाकिस्तानसमेत प्रत्यक्ष रूपमा मुछिन सक्ने खतरा बढेको छ। पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले साउदी अरबमाथिको आक्रमण थप फैलिएको अवस्थामा पाकिस्तान, साउदी अरब र टर्कीबीच भएको मक्का संयुक्त रक्षा सम्झौता सक्रिय हुनसक्ने चेतावनी दिएका छन्।

जियो न्युजको कार्यक्रममा बोल्दै रक्षामन्त्री आसिफले सम्झौताअनुसार तीनमध्ये कुनै एक राष्ट्रमाथि भएको आक्रमणलाई तीनै राष्ट्रमाथिको आक्रमण मानिने स्पष्ट पारे। यमनमा जारी द्वन्द्व साउदी अरबतर्फ फैलिएको अवस्थामा सम्झौता कार्यान्वयनमा आउनेमा कुनै अस्पष्टता नरहेको उनको भनाइ थियो।

आसिफले पाकिस्तान सम्झौताका सर्तप्रति प्रतिबद्ध रहेको भन्दै आवश्यक परेको अवस्थामा त्यसलाई पालना गर्ने बताए। उनले यो सम्झौता आक्रामक नभई सामूहिक रक्षाका लागि भएको पनि स्पष्ट पारे।

पछिल्लो आक्रमणमा हूती विद्रोहीले साउदी अरबका दक्षिणी क्षेत्रमा रहेका विभिन्न शहर तथा तेलसम्बन्धी पूर्वाधारलाई लक्षित गरी क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेका थिए। आक्रमणमा ७३ जना घाइते भएको साउदी अधिकारीहरूले बताएका छन्। अब्हा, खमिस मुशैत, जिजान र नजरानलगायत क्षेत्रमा आक्रमण भएको थियो।

आक्रमणपछि साउदी अरबले आफ्नो सार्वभौमिकता र सुरक्षाको रक्षाका लागि आवश्यक सबै कदम चाल्ने जनाएको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले पनि हूती आक्रमणको निन्दा गर्दै साउदी अरबको सार्वभौमिकता, सुरक्षा र भौगोलिक अखण्डताप्रति पाकिस्तानको समर्थन रहेको बताएका छन्।

रक्षामन्त्री आसिफले भने तत्काल युद्ध थप विस्तार नहोस् भन्ने आशा व्यक्त गरेका छन्। उनले हूतीहरूले यमनको आन्तरिक द्वन्द्वलाई अन्य देशमा विस्तार गर्न खोजेमा मक्का रक्षा सम्झौताका प्रावधान सक्रिय हुन सक्ने चेतावनी दिएका छन्।

यसैबीच, पाकिस्तानले अमेरिका र इरानबीच जारी तनाव कम गर्न कूटनीतिक प्रयास जारी राखेको आसिफले बताएका छन्। दुवै पक्षसँग पाकिस्तानको मैत्रीपूर्ण सम्बन्ध रहेकाले इस्लामाबादका लागि वर्तमान परिस्थितिमा सन्तुलित भूमिका निर्वाह गर्नु चुनौतीपूर्ण रहेको उनको भनाइ छ।

पाकिस्तान, साउदी अरब र टर्कीले गत अगस्ट ७ मा मक्कामा संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए। सम्झौताले तीनमध्ये कुनै एक देशमाथि सशस्त्र आक्रमण भए त्यसलाई सबैमाथिको आक्रमणका रूपमा लिने व्यवस्था गरेको छ। पाकिस्तानको विदेश मन्त्रालयले पनि सम्झौता रक्षात्मक प्रकृतिको रहेको र कुनै देशविरुद्ध लक्षित नभएको स्पष्ट पारेको छ।

हूती आक्रमण र त्यसको सम्भावित प्रतिक्रियाका कारण यमनको द्वन्द्व साउदी अरब हुँदै क्षेत्रीय युद्धमा विस्तार हुने जोखिम बढेको छ। यस्तो अवस्थामा मक्का रक्षा सम्झौता पहिलोपटक व्यवहारमा लागू हुने अवस्था आएमा पाकिस्तानसमेत मध्यपूर्वको सैन्य तनावमा प्रत्यक्ष रूपमा जोडिन सक्ने सम्भावना देखिएको छ।

प्रकाशित मिति : भाद्र २४, २०८३ बुधबार  ४ : ३८ बजे