काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार,२८ वटा बससहित ६ वटा नयाँ रुट थपिए



काठमाडौं । आगामी असोज तीनगतेदेखि काठमाडौं उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमार्फत सेवा दिने भएका छन्। कामपाको कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको रात्रिकालीन यातायात सेवा सञ्चालन हुने नगरपालिकाका प्रमुख, उपप्रमुख र साझेदार अधिकारीबीच सम्पन्न बैठकले उक्त निर्णय गरेको हो।

काठमाडौं उपत्यकामा संविधान दिवसको अवसर पारेर आगामी असोज ३ गतेदेखि उपत्यकाका विस्तारित ६ वटा रुटमा २८ वटा रात्रिकालीन बसबाट सेवा थप गर्ने निर्णय बैठकले गरेको कामपाले जानकारी दिएको छ।

बैठकमा काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरी नगरपालिका र बूढानीलकण्ठ नगरपालिकाले साझा यातायातसँगको समन्वयमा गत बैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्दै आएका छन्।

यो सेवालाई विस्तार गरेर उपत्यकाको उत्तर दक्षिण र पूर्वपश्चिम दुवै भागलाई जोड्ने गरी गोदावरीदेखि बुढानीलकण्ठसम्म ६ वटा, भक्तपुरको जगातीदेखि रत्नपार्क हुँदै ठमेलसम्म ६ वटा, एयरपोर्टदेखि चन्द्रागिरीको नागढुंगासम्म चार वटा बस, कीर्तिपुरदेखि काठमाडौंको नयाँ सडक नेपाल वायुसेवा निगमसम्म चार वटा र चक्रपथमा दुईतर्फी फन्को लगाउन आठ वटा बस सञ्चालन हुनेछन्।

चक्रपथमा यातायात सेवा प्राप्त भएपछि एक ठाउँमा बस परिवर्तन गर्दा सेवा सञ्चालन गरेका हरेक ठाउँमा पुग्न सकिनेछ। यसरी यात्रा गर्दा अधिकतम ८० रूपैयाँ भाडा लाग्नेछ।

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ुहामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित तीन महिना परीक्षण सेवा दियौँ। विज्ञहरूको कार्यदललाई यसको व्यवस्थापन र वित्तीय सुझावका लागि जिम्मा दियौँ। यसरी गरिएको अध्ययनले सेवाको निरन्तरताका लागि तीन वटा विकल्प दिएको छ। यसमध्ये उपत्यकाका नगरपालिकाको वित्तीय साझेदारीमा सेवालाई निरन्तरता दिँदा दिगो र सुरक्षित सेवा हुनेछ ।

बेलुका ८ बजेपछि भक्तपुर जाने सार्वजनिक यातायात पाउन निकै कठिन हुने गरेको बताउँदै उनले समस्या समाधानका लागि कमपाले योजना बनाइरहेको जानकारी दिनुभयो। भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भनिन्, ुयसले काठमाडौं र ललितपुरसँग भक्तपुरको सम्बन्ध नजिक ल्याउने विश्वास छ ।

बैठकले, रात्रिकालीन बस सेवा सञ्चालनको रुट परमिट सहजताका लागि विद्यमान यातायातसम्बन्धी कानूनमा समय सापेक्ष संशोधनका लागि नेपाल सरकारसमक्ष अनुरोध गर्ने भएको छ। रासस

प्रकाशित मिति : भाद्र २५, २०८३ बिहीबार  १२ : ५३ बजे