काठमाडौं असोज, २४–
पूर्व प्रधानमन्त्री समेत रहेका नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले वामदेव गौतम काठमाडौं ७ बाट चुनाव लड्न खोज्नुलाई भ्रष्टीकरणको संज्ञा दिएका छन् । बर्दियाबाट पराजित नेकपाका नेता गौतमलाई काठमाडौं क्षेत्र नम्बर ७ बाट चुनाव लडाउनु चरम राजनीतिक अनिष्टको संकेत भएको संयोजक भट्टराईको तर्क छ । डा भट्टराईले यसबारे आफ्नो धारणा ट्वीटरमार्फत सार्वजनिक गर्दै भनेका छन्, ‘काठमाडौं ७ का निर्वाचित सांसदलाई राजीनामा गराएर बर्दियाबाट हारेका वामदेव गौतमलाई संसदमा पुर्याउन अर्को खर्चिलो चुनाव गराउनु लोकतन्त्रको भ्रष्टीकरण र आगामी दिनमा चरम राजनीतिक अनिष्टताको संकेत हो । बेलैमा होस पुर्याऔं नेता भट्टराईले दलीय घेराभन्दा माथि उठेर लोकतन्त्रको रक्षा र समृद्धीकरण गर्न अपिल पनि गरेका छन् ।
नेकपाले काठमाडौं क्षेत्रनम्बर ७ बाट निर्वाचित सांसद् रामवीर मानन्धरलाई राजीनामा दिन लगाएर सो क्षेत्रमा हुने उपनिर्वाचनमा वामदेव गौतमलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।