निवर्तमान कार्यसमितिका सदस्यहरूसहित कांग्रेस केन्द्रीय समिति बैठक बस्दै



काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार उक्त बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बस्ने भएको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ । पार्टीको १५औँ महाधिवेशनलगायत विविध विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

आजको बैठकमा निवर्तमान कार्यसमितिका सबैलाई पत्र पठाएर निमन्त्रणा गरिएकाले सानेपामा थप उल्लासमय वातावरण बन्ने देखिएको छ।

कांग्रेसले असोज ३ गतेदेखि स्थानीय तहको अधिवेशन गर्दैछ । केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुनेछ ।

यता पार्टीको विशेष महाधिवेशनदेखि असहयोग गर्दै आएको पूर्व सभापति शेरबहादुर देउवा पक्षले पनि छुट्टै महाधिवेशन गर्ने बताएर कांग्रेसलाई फुटाउने योजना बनाएका छन् ।

यसअघि पनि देउवाकै नेतृत्वमा कांग्रेस फुटाएका थिए । शाही कू फिर्ता भएपछि भने देउवाको पार्टी फेरि कांग्रेसमा विलिन भएको थियो । यसपालि असन्तुष्ट देखिएकाहरू धमाधम मूल कांग्रेसमा फर्किरहेका छन् ।

यसअर्थमा पनि आजको बैठकलाई निकै चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति : आश्विन १, २०८३ बिहीबार  १० : ५३ बजे