नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको महाधिवेशनमा पूर्वसभापति शेरबहादुर देउवालाई सहभागी भएर उद्घाटन गरिदिन आग्रह गरेका छन् ।
बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्यसमिति बैठकमा बोल्दै थापाले महाधिवेशनको दिन पूर्वसभापति आएर उद्घाटन गरिदिन पार्टीका लागि सम्मानको विषय हुने बताएका हुन् ।
उनले भने, ‘मेरो आदरणीय नेता पूर्वसभापति शेरबहादुर देउवालाई म आग्रह गर्न चाहन्छु, पर्सि हाम्रो अधिवेशन छ। अधिवेशनको दिनमा पूर्व पार्टी सभापतिले आएर अधिवेशनको उद्घाटन गरिदिने कुरा हाम्रा निम्ति ठूलो सम्मानको विषय हुन्छ ।“१६ गतेसम्म पनि शेरबहादुर देउवालाई अधिवेशनमा ल्याउने कोसिस गर्छु,” थापाले भने ।’
थापाले पार्टीको महाधिवेशनलाई एकतावद्ध रूपमा सम्पन्न गर्न आफूले आवश्यक लचकता अपनाउन तयार रहेको बताए ।पूर्वसभापति शेरबहादुर देउवासहितका वरिष्ठ नेताहरूलाई आग्रह गर्दै उनले महाधिवेशन छुट्टाछुट्टै गर्नुपर्ने अवस्था वा कारण नरहेको बताए ।
यसअघि पूर्वसभापति तथा अन्य नेताहरूले उठाएका विषयहरू सम्बोधन भइसकेपछि अब थप अलमल नगरी महाधिवेशनको प्रक्रियामा अघि बढ्नुपर्ने उनको भनाइ छ ।











