कांग्रेसको १५औं महाधिवेशन : देशभर वडा अधिवेशन आज सकिंदै



काठमाडौं । कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन आज सकिदैछ। देशभर शनिबार हुन बाँकी रहेका वडा अधिवेशन आज सकिन लागेको हो ।

पार्टी केन्द्रीय निर्वाचन समितिले हिजो र आज स्थानीय अनुकूलता अनुसार वडा अधिवेशन गर्न सकिने कार्यतालिका निकालेसँगै औपचारिक रूपमा वडा अधिवेशन आज सकिने भएको हो ।

शनिबार ४३ जिल्लाका ३ हजार ३९६ वडामा अधिवेशन तथा निर्वाचन सम्पन्न भएको कांग्रेसले जनाएको छ। निर्वाचन कार्यक्रम अन्तर्गत ताप्लेजुङ, पाँचथर, संखुवासभा, धनकुटा, सोलुखुम्वु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाण्डौ, गोरखा, कास्की, मनाङ्ग, पर्वत, स्याङ्जा, वागलुङ, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम ९पूर्व०, रोल्पा, प्युठान, रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर र कैलाली जिल्ला गरी ४३ जिल्लाका ३३९६ वडामा अधिवेशन पश्चात निर्वाचन सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिले जानकारी गराएको छ ।

केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार रसुवा, नुवाकोट र धादिङबाहेकका ३१ जिल्लामा वडा अधिवेशन आइतबार पनि जारी रहने कांग्रेसले जनाएको छ।

गत पुस मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण गरेका सबै क्रियाशील सदस्यले वडाको अधिवेशनमा भाग लिन पाउने कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

पार्टीको अधिवेशनमा वडाक्षेत्र भित्रका क्रियाशील सदस्य वडा अधिवेशनका सदस्य हुनेछन् । उक्त अधिवेशनले वडा सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव, एक सहसचिव र सदस्य निर्वाचित गर्नेछ ।

प्रकाशित मिति : आश्विन ४, २०८३ आईतबार  १० : २४ बजे