बालेनले मलेसियाका प्रधानमन्त्रीलाई भने–रोजगारीमा सिन्डिकेट र बिचौलियातन्त्र हामीलाई मन पर्दैन



काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग आज बिहान टेलिफोनमार्फत विशेष छलफल गरेका छन्।

छलफलका क्रममा प्रधानमन्त्री शाहले नेपाल–मलेसिया वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउनुपर्नेमा जोड दिएका छन्।

उनले मलेसियाको रोजगारी क्षेत्रमा देखिएको सिन्डिकेट तथा बिचौलिया प्रथाप्रति असन्तुष्टि जनाउँदै यस्तो प्रवृत्ति कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारे।

प्रधानमन्त्री शाहले श्रमिकहरूलाई प्रत्यक्ष असर पार्ने यस्ता अव्यावहारिक तथा अन्यायपूर्ण प्रवृत्तिको स्थायी समाधानका लागि नेपाल र मलेसियाबीच संयुक्त पहल आवश्यक रहेको बताए।

“हामीलाई सिन्डिकेट र बिचौलियातन्त्र मन पर्दैन र यो कुनै पनि हालतमा स्वीकार्य छैन। यसले श्रमिकहरूलाई मारमा पारेको छ,” प्रधानमन्त्री शाहले भने, “त्यसैले तपाईंका श्रममन्त्रीलाई हाम्रा श्रममन्त्रीसँग प्रत्यक्ष वार्तामा बस्न र यो समस्या सधैँका लागि हटाउन आवश्यक कदम चाल्न आग्रह गर्दछु।”

प्रधानमन्त्री शाहको धारणा सकारात्मक रूपमा लिँदै मलेसियाली प्रधानमन्त्री इब्राहिमले पनि सिन्डिकेट र बिचौलिया प्रथाको विरोधमा आफू स्पष्ट रहेको बताएका छन्।

प्रकाशित मिति : आश्विन ६, २०८३ मंगलबार  १२ : १२ बजे