काठमाडौँ । काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका मकवानपुरका अर्जुन दोङको उपचारका क्रममा निधन भएको छ । घटनापछि आक्रोशित मृतकका परिवार र समर्थकहरूले कीर्तिपुरस्थित बर्न अस्पताल परिसरमा भेला भई निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ घर भएका अर्जुन दोङले सोमवार त्रिपुरेश्वरमा आफैँले चलाएको बसभित्रै आत्मदाहको प्रयास गरेका थिए । ट्राफिक प्रहरीसँग भनाभन भएपछि उनले आत्मदाहको प्रयास गरेका थिए । गम्भीर घाइते अवस्थामा उद्धार गरी उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो ।
दोङको उपचारकै क्रममा मृत्यु भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ ।










