काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नेता मीनबहादुर विश्वकर्माले पार्टीको १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन आफूहरू सानेपास्थित केन्द्रीय कार्यालयमा समाहित भएको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता विश्वकर्माले आफूहरूले देउवालाई छाडेर गगन थापालाई रोजेको नभई कांग्रेसलाई फुटबाट जोगाउन चुनदेवीको सम्पर्क कार्यालय छाडेर केन्द्रीय मुख्यालय सानेपा पुगेको स्पष्ट पारे ।
‘हामीले देउवाजीलाई छाडेर गगन थापालाई रोजेका होइनौँ,’ विश्वकर्माले भने, ‘कांग्रेसलाई बलियो बनाउन र पार्टी मिलाउन निर्वाचन आयोग तथा अदालतले आधिकारिक भनेको पक्ष (सानेपा) सँगै मिलेर अघि बढेका हौँ । देउवाको अनुमतिमा हामी सानेपा गएका होइनौँ, कानुनी र राजनीतिक लडाइँ सानेपामै बसेर लड्न आएका हौँ ।’
१४औँ महाधिवेशनपछि विशेष महाधिवेशन बोलाइएपछि पार्टीभित्र दुई धार देखिएको स्मरण गराउँदै नेता विश्वकर्माले अदालत र निर्वाचन आयोगका फैसलाहरूपछि व्यावहारिक निकास खोजिएको बताए ।
दुवै पक्षले अलग(अलग महाधिवेशनको कार्यतालिका निकालेपछि महाधिवेशन रोक्न अदालतसमक्ष निवेदन दिए पनि अन्तरिम आदेश नआएपछि सानेपासँगै हातेमालो गर्ने निधोमा पुगिएको उनको भनाइ थियो ।
‘वर्तमान अवस्थामा पार्टीको झन्डा, बोर्ड, सर्वत्र हस्ताक्षर जसको चल्छ र देशैभरि सांगठनिक रूपमा जो चलायमान छ, त्यही समूहमा समाहित हुने निर्णयका साथ असोज १ गते संयुक्त बैठक बस्यौँ,’ उनले थपे, ‘त्यसपछि सानेपाले आह्वान गरेका सबै कार्यक्रममा हामी सहभागी भइरहेका छौँ । कानुनी लडाइँ आफ्नै ठाउँमा जारी छ ।’
नेता विश्वकर्माले देउवालाई १३औँ र १४औँ महाधिवेशनमा सफल बनाउन आफूहरूले इमानदार प्रयास गरेको उल्लेख गर्दै अब उनलाई सम्मानजनक रूपमा बिदाइ गर्न चाहेको बताए ।‘देउवासँग अहिले पनि शक्ति छ, उहाँ पार्टीको अभिभावक र सर्वोच्च नेता हुनुहुन्छ । देउवाको अभिभावकत्वमा महाधिवेशनमा जाँदा सबैको भावना समेटिन्छ,’ विश्वकर्माले भने, ‘पार्टी एकता गरेर देउवालाई दलको शिरमा राख्न चाहन्छौँ । उहाँकै उपस्थितिमा महाधिवेशनको उद्घाटन हुनेमा हामी विश्वस्त छौँ ।’
विगतको निर्वाचन परिणामबारे समीक्षा गर्दै विश्वकर्माले पुराना राजनीतिक दलहरू कांग्रेस, एमाले, नेकपालगायतले सोचेजस्तो नतिजा ल्याउन नसकेको र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले बहुमत ल्याएको परिस्थितिबाट कांग्रेसले पाठ सिक्नुपर्ने बताए । आमचुनावमा भएको क्षतिलाई सुधार गर्दै आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसले राम्रो नतिजा ल्याउने नेता विश्वकर्माले दाबी गरे । यसैबीच, आगामी १५औँ महाधिवेशनलाई सहमति र सकेसम्म निर्विरोध रूपमा सम्पन्न गर्नुपर्नेमा उनले जोड दिए ।
साक्षात्कारका क्रममा नेता विश्वकर्माले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन गएका प्रधानमन्त्री बालेन्द्र शाहलाई वातावरणीय न्यायका विषयमा प्राथमिकताका साथ कुरा उठाउन कांग्रेसले सुझाव दिएको जानकारी दिए ।‘प्रधानमन्त्री बालेनजीले महासभामा पर्यावरणीय न्यायका विषयमा दह्रोसँग प्रस्तुत हुनुपर्छ भन्ने हाम्रो सुझाव छ,’ उनले भने, ‘उहाँले त्यहाँ राम्रो बोल्नुहुन्छ र त्यसबाट देशलाई फाइदा पुग्छ भन्नेमा कांग्रेस विश्वस्त छ ।’
तर बालेन नेतृत्वको रास्वपा सरकारले जनताको व्यापक जनमत पाए पनि सोहीअनुरूप काम भने गर्न नसकेको उनले आरोप लगाए ।










