बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित



काठमाडौं । असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोले मुलुकको जलविद्युत् क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । बाढीपहिरोका कारण विभिन्न करिडोरका २७ भन्दा बढी जलविद्युत् आयोजनामा क्षति पुग्दा करिब १ हजार मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सोमबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै बाढीले जलविद्युत् उत्पादन र वितरण दुवैतर्फका संरचनामा क्षति पुर्‍याएको जानकारी दिए ।

उनका अनुसार कालीगण्डकी करिडोरका १३ र अन्य नदी बेसिनका १४ गरी कुल २७ आयोजनाको करिब १ हजार मेगावाट विद्युत् उत्पादन प्रभावित भएको छ ।

क्षतिग्रस्त संरचनामध्ये निलगिरी १ – २, मिस्त्री, थापाखोला, रेलेखोला र घलेम्डीलगायत सात आयोजनाको १९०।४ मेगावाट विद्युत् उत्पादन पुनः सञ्चालनमा ल्याउन केही महिना लाग्ने प्रारम्भिक अनुमान गरिएको मन्त्री श्रेष्ठले बताए ।

बाढीले कालीगण्डकी नदीको कटानका कारण राहुघाट जलविद्युत् आयोजनाको स्विचयार्डमा समेत क्षति पुगेको छ । अन्य केही आयोजनाको विद्युत् आपूर्ति मर्मत तथा वैकल्पिक व्यवस्थामार्फत छिट्टै सञ्चालनमा ल्याउने प्रयास भइरहेको उनले जानकारी दिए ।

हाल म्याग्दी र बागलुङमा पर्वतबाट वैकल्पिक लाइन जोडेर विद्युत् सेवा सञ्चालनमा ल्याइएको छ । मुस्ताङ र मनाङमा विद्युत् सेवा पुर्‍याउन प्राविधिक टोली परिचालन गरिएको मन्त्री श्रेष्ठले बताए ।

विद्युत् चुहावट रोक्न र अनावश्यक खपत कम गर्न आग्रह गर्दै उनले विद्यमान वितरण प्रणालीको स्तरोन्नति सरकारको प्राथमिकतामा रहेको बताए ।

प्रकाशित मिति : आश्विन १२, २०८३ सोमबार  ८ : १० बजे