काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को संरचनागत सुधार र प्राविधिक सुदृढीकरणको प्रक्रियालाई तिब्रता दिने भएको छ ।
अर्थ मन्त्रालयबाट प्राप्त निर्देशन बमोजिम, अघिल्लो सरकारका पालामा गठित रामेश्वर खनाल नेतृत्वको समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनमा लैजाने तयारी शुरु भएको सेबोनका अध्यक्ष डा. गोपालप्रसाद भट्टले जानकारी दिए ।
बुधवार बसेको संघीय संसदको अर्थ समितिमा बोल्दै अध्यक्ष भट्टले पुँजी बजारको विद्यमान संरचना र पछिल्ला दिनमा नेप्सेमा देखिएका साइबर सुरक्षा चुनौतीलाई गम्भीर रूपमा लिएको बताए ।
भट्टले संसदीय समितिको बैठकमा बजारका सहभागीहरूको सहभागितासहित नीतिगत सुधार, पूर्वाधार विकास र संस्थागत सुदृढीकरणमा जोड दिने प्रतिबद्धता व्यक्त गरे ।
भट्टका अनुसार पुँजी बजार सुधारका लागि बोर्डले प्राथमिक र दोस्रो बजारका लागि छुट्टाछुट्टै सुधार समिति गठन गरेको छ । समितिमा नेपाल स्टक एक्सचेन्ज (नेप्से), सिडिएस एन्ड क्लियरिङ लिमिटेड, नेपाल उद्योग वाणिज्य महासंघ र मर्चेन्ट बैंकर्स एसोसिएसनका प्रतिनिधि सहभागी छन् ।
उनले प्राथमिक बजार सुधारका सन्दर्भमा अध्यक्ष भट्टले आईपीओ निष्कासन, मूल्य निर्धारण (प्राइस डिस्कभरी), योग्य संस्थागत लगानीकर्ता र बाँडफाँट प्रणालीसँग सम्बन्धित नीतिहरू तयार भइसकेको र क्रमशः लागु गरिने जानकारी दिए ।
अब ब्रोकर कम्पनीलाई कार्यक्षमता र सेवा क्षमताका आधारमा चार श्रेणीमा वर्गीकरण गरी स्टक डिलरसिपसहितको विस्तृत संरचनामा लैजाने योजना रहेको भट्टलेले बताए ।
बोर्डले बजारको रेडीनेसलाई मध्यनजर गर्दै सहभागीहरूलाई इन्गेज गराएर अघि बढ्ने रणनीति लिएको छ । दोस्रो बजार सुधारका लागि ब्रोकर संस्थाहरूको पुनर्संरचनालाई बोर्डले प्राथमिकतामा राखेको छ । ब्रोकरहरूलाई पारिवारिक व्यवसायको साँघुरो घेराबाट माथि उठाउँदै ’इन्डस्ट्रियल’ मोडलमा विकास गर्ने नीति बोर्डले पारित गरिसकेको छ । अब ब्रोकरहरूलाई कार्यक्षमता र सेवाका आधारमा चार श्रेणीमा विभाजन गरी स्टक डिलरसिपसहितको वृहत संरचनामा लैजाने योजना रहेको छ, उनले भने ।
दोस्रो बजारको प्रमुख पूर्वाधारका रूपमा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सुधारलाई पनि प्राथमिकतामा राखेको र नेप्सेको ट्रेडिङ तथा अर्डर व्यवस्थापन प्रणाली, साइबर सुरक्षा र सूचना प्रविधिसम्बन्धी संरचनामा देखिएका कमजोरी सुधार गर्न आवश्यक नियामकीय व्यवस्था तयार पारिएको अध्यक्ष भट्टले बताए ।
डा. भट्टले अर्थ समितिको बैठकमा पेश गरेको तथ्यांकअनुसार देशभर डिम्याट खाता खोल्नेको संख्या ८० लाख ९५ हजार पुगेको छ भने ५१ लाख २२ हजार बढी ‘मेरो सेयर’ खाता सक्रिय छन् । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कारोबार खाता खोल्ने लगानीकर्ताको संख्या ३५ लाख ६२ हजार नाघेको छ ।










