काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा केन्द्रीय सदस्य प्रतिमा गौतमले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गर्दै चुनाबि प्रतिस्पर्धाको तयारि थालेकी छन् । महाधिवेशनमा विभिन्न पदका लागि नेताहरूले आफ्नो दाबी प्रस्तुत गरिरहेका बेला गौतमले पनि पदाधिकारी तहमा आफ्नो दाबी अघि सारेकी हुन् ।
गौतमले आगामी महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्दै आगामी यात्रामा आफूलाई साथ, सहयोग, सद्भाव र विश्वास गर्न पार्टीका सबैलाइ आग्रह गरेकी छन् ।
गौतमको राजनीतिक यात्रा विद्यार्थी राजनीतिबाट सुरु भएको हो । उनी पद्मकन्या क्याम्पसको स्ववियु सभापति हुँदै नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य तथा महामन्त्रीको जिम्मेवारीमा पुगेकी थिइन् । त्यसपछि कांग्रेसको केन्द्रीय राजनीतिमा सक्रिय रहँदै केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाल्दै आएकी छन् ।
उनले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट कांग्रेसको उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेकी थिइन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भने उनी समानुपातिकतर्फबाट निर्वाचित भएकी थिइन् ।
यसपटक गौतमको उम्मेदवारीलाई उनको लामो विद्यार्थी राजनीतिक पृष्ठभूमि, पार्टी संगठनमा बिताएको समय र संसदीय अनुभवसँग जोडेर हेरिएको छ । विद्यार्थी संगठनको नेतृत्वबाट पार्टीको केन्द्रीय तह र संसद्सम्म पुगेकी गौतमले अब पदाधिकारी तहमा आफ्नो राजनीतिक दाबी प्रस्तुत गरेकी हुन् ।
पार्टी र राष्ट्रप्रतिको जिम्मेवारीलाई थप प्रभावकारी बनाउदै सक्षम् कांग्रेस र समुन्नत देश बनाउने संकल्पसहित पदाधिकारीमा दाबि गरेको उनले बताइन्।
नेपाली कांग्रेसको महाधिवेशन असोज १८ गतेदेखि काठमाण्डौको भृकुटिमण्डपमा सुरू हुदै छ ।










