काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि सुरु हुँदै छ । काठमाडौंको खुलामञ्चमा हुने महाधिवेशन उद्घाटनको तयारी तीव्र पारिएको कांग्रेसले जनाएको छ ।
कांग्रेसले शुक्रबार पत्रकार सम्मेलन गर्दै महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको जनाएको छ । महाधिवेशनमा सात हजार २८ प्रतिनिधिहरू सहभागी हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले जानकारी दिए । महाधिवेशनमा सहभागी हुन विदेशबाट पनि जनसंगठनका प्रतिनिधिहरू काठमाडौं आउँदै गरेका उनले जानकारी दिए । महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आउने क्रम सुरु भएको उनले बताए ।
पूर्वसभापति शेरबहादुर देउवालाई १५औँ महाधिवेशन उद्घाटनका लागि बोलाइएको प्रवक्ता देवराज चालिसेले पत्रकार सम्मेलनमा जानकारी दिए । अन्य पार्टीका नेताहरूलाई पनि महधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन बोलाइएको चालिसेले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहल (प्रचण्ड), राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता सामाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत, श्रम संस्कृत पार्टीका महासचिव आरेन राई र राष्ट्रिय जनमोर्चाका कार्यवाहक महासचिव घनश्याम पौडेल उद्घाटन कार्यक्रममा आउने तय भएको उनले बताए ।










