काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता सोमबार हुने भएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज १८ गते आइतबारदेखि शुरू हुने महाधिवेशनको दोस्रो दिन १९ गते सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौंस्थित राष्ट्रिय सभागृहमा उम्मेदवारहरूको मनोनयनपत्र दर्ता गर्ने तालिका सार्वजनिक गरेको हो ।
निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालका अनुसार तोकिएको समयभित्र सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्य तथा महाधिवेशनबाट उम्मेदवार बन्न योग्य व्यक्तिहरूले मनोनयनपत्र दर्ता गर्न सक्ने उल्लेख छ ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि आवश्यक निर्वाचन कार्यक्रमसम्बन्धी विस्तृत विवरण भने पछि प्रकाशित गरिने निर्वाचन समितिले जनाएको छ ।
मनोनयन दर्ताको मिति तय भएसँगै कांग्रेसको १५औँ महाधिवेशनमा सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्यका आकांक्षीहरूको उम्मेदवारी प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने भएको छ । विभिन्न पदका आकांक्षीहरूले उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ ।
निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिहरूलाई निर्धारित समयभित्र उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न सूचित गरेको छ ।










