काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा उम्मेदवारी घोषणा गर्ने क्रम् बढेको छ । यही क्रममा नेपाल विद्यार्थी संघको राजनीतिबाट पार्टीको केन्द्रीय राजनीतिमा आएका नेता मनोजमणि आचार्यले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
सहमहामन्त्री पदमा आचार्यको उम्मेदवारीलाई उनको पछिल्लो राजनीतिक भूमिकाले स्वभाविक बनाएको छ । कांग्रेसको विशेष महाधिवेशनमा उनले आफू कुनै पदको दाबेदार नबनेको बताउदै कुनै जिम्मेवारि नलिइ महाधिवेशन व्यवस्थापनको काममा सक्रीय थिए ।
विशेष महाधिवेशनको व्यवस्थापनमा सक्रिय रहे पनि पद नलिएका आचार्य अहिले भने नियमित महाधिवेशनको निर्वाचन प्रक्रियामा आफैं उम्मेदवार बनेका हुन् । उनले सहमहामन्त्रीमा उम्मेदवारी दिने विषयमा पार्टी सभापति र उपसभापतिहरूलाई जानकारी गराइसकेको बताएका छन् ।
रोल्पाबाट महाधिवेशन प्रतिनिधि चयन भएका आचार्य लामो समयदेखि कांग्रेसको विद्यार्थी राजनीतिमा सक्रिय थिए । उनी नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री हुन् ।
आचार्य लामो विद्यार्थी राजनीतिमा गगनकुमार थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र गुरुराज घिमिरेहरूसँग काम गरेका नेता समेत हुन् ।
आचार्यको पछिल्लो राजनीतिक यात्रा विशेष महाधिवेशनमा व्यवस्थापनको जिम्मेवारी सम्हाल्ने भूमिकाबाट अब पार्टीको पदाधिकारी तहमा प्रत्यक्ष प्रतिस्पर्धा गर्ने चरणमा पुगेको देखिन्छ ।
कांग्रेसको १५ औं महाधिवेशन १८ असोजबाट सुरु हुदै छ ।










