कांग्रेस महाधिवेशन : शुक्रबार बिहान ७ बजेदेखि मतदान



काठमाडौं, असोज २२ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा शुक्रबार बिहान ७ बजेदेखि मतदान हुने भएको छ।

कांग्रेसको १५ औँ महाधिवेशनमा बिहीबार नै मतदान गर्ने कार्यतालिका तय गरिए पनि पटक–पटक समय सारिएको थियो। आवश्यक तयारी पूरा हुन नसकेपछि बिहीबार मतदान हुन नसक्ने अवस्था बनेपछि निर्वाचन समितिले मतदान शुक्रबार बिहानका लागि सारेको हो।

निर्वाचन समितिले यसअघि बिहीबार बिहान ७ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। तर वर्षा र प्राविधिक कारण देखाउँदै मतदानको समय बिहान १० बजेसम्म सारिएको थियो।

१० बजे पनि मतदान सुरु हुन नसकेपछि आवश्यक तयारी पूरा गर्न भन्दै समय थप गर्दै दिउँसो १ बजेका लागि तोकिएको थियो। त्यसपछि पनि तयारी पूरा नभएपछि मतदानको समय एक घण्टा पछाडि सारेर दिउँसो २ः३० बाट सुरु गर्ने भनिएको थियो।

तर प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा हुन नसकेपछि बिहीबार मतदान गर्न सम्भव नभएको निर्वाचन समितिले जनाएको छ। त्यससँगै नयाँ कार्यतालिका बनाएर शुक्रबार बिहान ७ बजेदेखि मतदान गर्ने निर्णय गरिएको हो।

प्रकाशित मिति : आश्विन २२, २०८३ बिहीबार  ४ : ३१ बजे