काठमाडौं, कात्तिक १२ । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले अगामी दशकलाई सामाजिक रूपान्तरणको दशक बनाउने गरी पार्टीले काम गर्नुपर्ने बताएका छन् ।
बिहीवार पार्टी मुख्यालय सानेपामा पार्टीको १५ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यहरुको शपथ ग्रहण समारोहमा बोल्दै उनले यस्तो बताएका हून् ।
उनले विद्यमान सामाजिक विकृति र विभेद अन्त्यलाई प्राथमिकतामा राखेर पार्टीले योजनाअनुरुप काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।उनले नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई केवल दौडधुप र गतिविधिमा सीमित नभई जिम्मेवारीअनुसार परिणाम देखिने गरी काम गर्न आग्रह गरे। पार्टी केन्द्रको योजना र सभापतिको कार्ययोजनाअनुसार अघि बढेर संगठनलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो।
शर्माले सामाजिक सञ्जालमा गलत सूचना प्रवाह भएमा विधिसम्मत प्रक्रियाबाट त्यसको खण्डन गर्नुपर्ने बताए। सामाजिक सञ्जाललाई भ्रम फैलाउने माध्यम नभई समाज रूपान्तरणका लागि उपयोग गर्नुपर्नेमा उनले जोड दिए। पार्टीगत स्वार्थभन्दा राष्ट्रलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उनको धारणा थियो।
उनले विश्वव्यापी जलवायु परिवर्तनको असर न्यूनीकरण, हिमाल संरक्षण तथा विदेशमा रहेका नेपालीका भावना र सरोकारलाई सम्बोधन गर्ने विषयमा सरकारसँग सहकार्य गर्न कांग्रेस तयार रहेको बताए।










