इलाम । चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग गर्दै आएका डा. गोविन्द केसीले इलाममा सत्याग्रह सुरु गरेका छन् ।
इलाम, ताप्लेजुङ र पाँचथरका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन इलाममा सरकारी मेडिकल कलेज सञ्चालन गर्नुपर्ने मागसहित उनले बिहीबार साँझ ५ बजेदेखि इलामस्थित नारायणस्थानमा सत्याग्रह सुरु गरेका हुन् ।
पूर्वी पहाडी जिल्लाका नागरिकलाई आफ्नै क्षेत्रमा सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन इलाममा सरकारी मेडिकल कलेज स्थापना गर्नुपर्ने उनको मुख्य माग छ ।
डा. केसीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि सरकारले यसअघि गरेका सहमति कार्यान्वयन नगरेको आरोपसमेत लगाउदै सरकारले माग पूरा गर्ने आश्वासन दिए पनि पटक–पटक कार्यान्वयन नगरी आफूलाई झुक्याउँदै आएको बताएका छन् ।
उनले न्यूनतम पूर्वाधार, आवश्यक प्राज्ञिक जनशक्ति र कानुनी मापदण्ड पूरा नगरी विभिन्न कलेजमा विद्यार्थी भर्ना सिट वृद्धि गर्ने निर्णय पनि तत्काल खारेज गर्नुपर्ने माग गरेका छ ।
त्यसैगरी, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष तथा विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारलाई निलम्बन गरी उनीहरूको नियुक्ति प्रक्रिया, शैक्षिक योग्यता, अनुभव, सम्भावित स्वार्थको द्वन्द्व र पदबहालीपछि भएका निर्णयबारे उच्चस्तरीय तथा निष्पक्ष छानबिन गर्नुपर्ने केसीको माग छ ।










