आगामी बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गरिने भएको छ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिने आइतबार बसेको नेकपा सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
‘सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्य उपचारको योजनाको बारेमा जानकारी गराउनुभयो,’ श्रेष्ठले भने, ‘सोमबार नै प्रधानमन्त्री उपचारका लागि शिक्षण अस्पतालमा भर्ना हुनुहुन्छ।’
प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणका लागि ९९ प्रतिशत तयारी पूरा भइसकेको अस्पतालका चिकित्सकहरूले बताएका छन्।
प्रवक्ता श्रेष्ठले आजको सचिवालय बैठकले प्रधानमन्त्रीको सफल प्रत्यारोपण र स्वास्थ्य लाभको कामनासमेत गरेको बताए।
प्रधानमन्त्री ओलीले १२ वर्षअघि भारतको नयाँदिल्लीमा मिर्गौला प्रत्यारोपण गरेका थिए। त्यसपछि उनले नियमित डायलासिस गरिरहेका थिए।










