सरकारले कोरोना भाइरसको संक्रमण भएमा राख्न एक सय ५५ वटा आइसोलेसन वार्ड तयारी अवस्थामा राखेको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो सूचीहरुमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाल एपीएफ अस्पताल तोकेको छ भने अन्य प्रादेशिक ३६ वटा अस्पतालहरुको सूचीकरण गरेको छ ।तेस्तै सरकारले देशको कुनै क्षेत्रमा कोरोना भाइरस (कोभिड —१९) को संक्रमण देखिएमा निश्चित क्षेत्र तोकेर ‘लक डाउन’ गर्ने योजना बनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रवक्ता डा . विकास देवकोटाका अनुसार कुनै क्षेत्रमा संक्रमण देखिए अत्यावश्यकबाहेक अरु बन्द गर्ने तथा पकेट एरिया लक डाउन गर्ने योजना सरकारले बनाएको बताए । उनले भने, ‘अत्यावश्यक बाहेक अन्य बन्द गर्नेदेखि लिएर पकेट एरिया लक डाउन गर्ने, विभिन्न उपकरण र जनशक्ति एकत्रित गरेर परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।’आवश्यक परेमा फिल्ड र मोबाइल अस्पताल परिचालन गर्नसमेत सहकार्य गरिने उनले बताए ।
यस्तै, स्वास्थ्य सचिव यादव कोइरालाले मन्त्रालयले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार काम गरिरहेको बताए। उनले स्वास्थ्य र शिक्षा गम्भीर कुरा भएकाले सही सूचना प्रवाह गर्न आग्रह गरे। उनले भने, ‘हामीलाई जोखिमलाई हेरेर काम गरिरहेको छौं। नाकाहरुमा कडाइ गरेका छौं। स्थानीय र प्रदेश सरकासँग हातेमालो गरेका छौँ।’
तेसैगरी हाल सरकारले आठ मुलुकहरु चीन, इरान, इटाली, दक्षिण कोरिया, जापान, फ्रान्स, जर्मनी र स्पेनबाट नेपाल भ्रमणमा आउने विदेशी नागरिक ‘अनअराइभल भिसा’ स्थगन गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको उच्च जोखिम रहेका मुलुकहरुबाट आउने विदेशी पर्यटकहरुले रोग नभएको प्रमाणपत्र लिएर आउनुपर्ने प्रावधान छ ।










