मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
परिस्थितिजन्य समस्याले सताए पनि कर्मयोगले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। स्वास्थ्यका लागि खाद्यान्न र विभिन्न स्रोत–साधन जुटाउनुपरे पनि आवश्यकता पूरा हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ भने सुमधुर दाम्पत्यको आनन्द प्राप्त हुनेछ। उत्तम वस्त्र, भोजन र विशेष उपहार हातलागी हुनेछन्। समाजमा गुमेको स्थान प्राप्त हुनुका साथै व्यवसायले प्रगतिको मार्ग अवलम्बन गर्न सक्छ। स्वास्थ्यमा उच्च रक्तचाप, ज्वरो, टाउको दुखाइ, आँखाको समस्या आदिले सताउने हुँदा नियमित काम प्रभावित बन्नेछ। आफन्तसँग असमझदारी बढे पनि समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अर्थ अभाव देखिए पनि सीप र कला प्रदर्शन गर्ने समय छ। सोख पूरा गर्न धेरै रकम जोहो गर्नुपर्ला। तत्काल लाभ नभए पनि पछि फाइदा हुने काम गर्न सकिनेछ। अध्ययनले तर्कशक्ति बढ्नेछ भने मिहिनेत गर्दा अभिव्यक्ति र लेखन कलामा निखारता आउनेछ। बीचमा अधिक खर्च बढ्नेछ। आफ्नो खर्चमा अरूले आनन्द लिने चेष्टा गर्नेछन्। आफन्तबाट समेत टाढिनुपर्ने अवस्था आउन सक्छ। तापनि व्यावहारिक चुनौती चिर्दै यो महिनामा विशेष अवसर हातपार्न सफल भइनेछ। पछिका लागि लगानी गर्ने समय छ। नोकरीमा स्थानान्तरणको बलियो सम्भावना देखिन्छ। लाभको आशा देखाएर ठगी गर्नेहरूबाट सजग रहनुहोला। अहिलेको संघर्षले पछिलाई फाइदा हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आम्दानीका नयाँ स्रोत फेला पर्नुका साथै यो महिनामा खुसीको समाचार सुन्न पाइनेछ। विभिन्न अवसर प्राप्त हुनेछन् र दैनिकीले उचाइको बाटो समाउनेछ। राज्यमा पहुँच बढ्नुका साथै नाम, दाम र इनाम प्राप्त हुनेछ। नोकरीमा पदोन्नति वा अनुकूल स्थानान्तरण हुनाले मन उत्साहित रहनेछ। व्यवसायमा उल्लेख्य प्रगति हुनाले मनग्गे धन आर्जन हुनेछ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने अवसर पनि जुट्न सक्छ। कृषि तथा पशुधनबाट यथेष्ट लाभ मिल्नेछ। तर, अल्पकालीन सोचाइले निर्णय कमजोर बनाउन सक्छ। सानो उद्देश्यका लागि ठूलो स्रोत परिचालन गर्नुपर्ने देखिन्छ। अप्ठ्यारा परिस्थिति सुल्झाउन केही त्याग गर्नुपरे पनि सत्कार्यमा खर्च हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कीर्तिमानी काम गरेर धेरैको मन जित्न सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। प्रतिभाको उच्च मूल्यांकन हुनेछ भने सानो प्रयत्नले दाम, इनाम र प्रतिष्ठा कमाउने मौका छ। व्यापार–व्यवसायमा पनि लगानी बढाउने समय छ। कृषिउपज र पशुधनबाट मनग्गे फाइदा हुनेछ। अध्ययनले नयाँ गति लिनेछ भने प्रयत्न गर्दा देश–विदेशसम्मै अवसर हातपार्न सकिनेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। नोकरीमा अनुकूल स्थान प्राप्ति हुनेछ भने राजनीतिमा विशेष फाइदा हुने समय छ। राष्ट्रियस्तरको मानसम्मान प्राप्त हुन सक्छ। व्यवहारले उब्जाएको वादविवाद सम्झौतामा टुंगिनेछ। भौतिक साधनहरू जुट्नेछन् भने मनग्गे धनलाभ पनि हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यवहारमा केही चुनौती देखिए पनि इच्छाशक्ति र लगनशीलताले लक्ष्यमा पुग्न सफल भइनेछ। सानो प्रयत्नले ठूलो सफलता दिलाउनेछ। व्यवसायमा नयाँ कार्यको थालनी हुनेछ। विद्यार्थीहरूको लेखन तथा अभिव्यक्ति कलामा निखारता आउनेछ। आस मारेको काम सम्पादन हुनाले उत्साहित भइनेछ। केही खर्च लागे पनि नयाँ क्षेत्रमा लगानी गर्ने मौका पाइनेछ। क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। विभिन्न अवसर प्राप्त हुनाले जोस–जाँगर बढ्नेछ। केही समय अरूका काममा जुट्नुपरे पनि अन्ततः फाइदा आफैंलाई हुनेछ। धार्मिक र सामाजिक क्रियाकलापमा प्रवृत्त भइनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यवसाय र आयमूलक काममा मन्दी आउनेछ भने महिनाभरि अर्थ अभावले सताउन सक्छ। समयमा होश नपुग्नाले केही धनमाल गुमाउनुपर्ने स्थिति आउन सक्छ। स्वास्थ्यका लागि महिनाभरि आहार–विहारमा सजग रहनुपर्ला। राजनीतिक र सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ। व्यवहारमा संघर्ष गर्नुपरे पनि खोजमूलक अध्ययनमा लाग्नेहरूका लागि यो महिना लाभदायक रहनेछ। परिवारजनले साथ दिनेछन्। खराब व्यक्तिको विश्वासमा पर्नाले काममा धोका हुन सक्छ। अनीति र अन्यायको सिकार भइनेछ। केही जरिवाना, चोटपटक वा हाड–जोर्र्नीमा समस्या आउने देखिएकाले सवारीसाधन वा हातहतियारको उपयोग गर्दा अलि सावधानी अपनाउनुहोला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
महिना मिश्रित प्रकारको रहनेछ। काममा संघर्ष गर्नुपरे पनि रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। आफ्नो प्रतिभाले अरूलाई आकर्षित गर्न सकिनेछ। कृषि तथा व्यापारमा आम्दानी बढ्नुका साथै मनग्गे धन सञ्चय गर्न सकिनेछ। तर, समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ। स्वास्थ्यमा मौसमी समस्या आउने हुँदा आँटेका काममा केही विलम्ब हुनेछ। अरूको भरपर्दा काम रोकिन सक्छ। आफ्नै कमजोरीले आफन्त टाढिन सक्छन्। राजनीतिक तथा सामाजिक प्रभाव पनि कमजोर बन्न सक्छ। अध्ययनमा धेरै समय दिन नसकिए पनि व्यावहारिक ज्ञान बढ्नेछ। पारिवारिक उल्झनले सामाजिक काममा समेत बाधा पुर्याउन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्यमा केही समस्या देखिए पनि महिना उत्साहवर्धक रहनेछ। प्रतिस्पर्धीहरू सहयोगीका रूपमा देखा पर्नेछन्। काममा जोश–जाँगर बढ्नेछ र मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। लामो समयदेखि रोकिएका काम बन्नुका साथै नयाँ उद्योग वा व्यवसाय सुरु गर्ने मौका छ। सानो प्रयत्नले ठूलो काम बन्नेछ। आर्थिक समस्या दिगो रूपमा सुल्झाउन सकिनेछ। शत्रुबाधा, मुद्दामामिला वा विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। एकल जीवनले वैवाहिक मार्ग अवलम्बन गर्ने समय छ। घर फर्कनेहरूलाई यात्राको प्रक्रिया अघि बढ्न सक्छ। सानो प्रयत्नले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
स्वास्थ्यमा मौसमी समस्याले सताउन सक्छ, सजग रहनुहोला। परिस्थितिवश नोकरी तथा पेसा–व्यवसाय प्रभावित बन्नाले अर्थोपार्जनमा कमी आउनेछ। फजुल खर्च नगरी पछिका लागि समयमै जोहो गर्ने प्रयत्न गर्नुहोला। अप्ठ्यारो समयमा सहयोग गर्नेहरू कमै भेटिनेछन्। अग्रज, अभिभावक र सरकारी पक्षको भर पर्दा समस्या लम्बिन सक्छ। रोकिएका काममा सन्तान तथा अनुयायीहरूले साथ, सहयोग जुटाउनेछन्। समस्या दर्साउँदा केही पछि शुभचिन्तकहरूको साथ जुट्नेछ। गुरुजनको प्रेरणा मिल्नुका साथै अध्ययनमा प्रगति हुनेछ। धैर्य तथा लगनशीलताले स्थितिमा सुधार ल्याउन सकिनेछ। अन्तिम सातामा भने सकारात्मक संकेत प्राप्त हुनेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अवसरका लागि निकै मेहनत गर्नुपर्ने समय छ। स्वास्थ्य कमजोर हुनेहरूलाई छाती, फोक्सो तथा घाँटीको समस्या बढ्न सक्छ। सुरुमा साइनो गाँस्नेहरूले पछि आफ्नो ठाउँ ओगट्ने चेष्टा गर्नेछन्, आफ्नो अधिकार जोगाउन समयमै सगज रहनुपर्ला। आर्थिक पक्षमा धेरै उन्नति नभए पनि आवश्यकता पूरा हुनेछन्। उच्च महत्त्वाकांक्षाले सामूहिक चेतना खलबल्याउन सक्छ। बलजफ्ती गर्ने बानीले शुभचिन्तकहरू टाढिनेछन्। घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउनाले आफन्तमाझ एकताको भावना विखण्डित हुनेछ। परिवारजनसँग घरसल्लाह नमिल्ने समय छ। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्, सजग रहनुहोला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विभिन्न अवसर जुट्नाले यो महिना निकै लाभदायक रहनेछ। रोकिएका काम बन्नेछन् भने मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। उद्योग–धन्दा र व्यापारमा फाइदा हुनेछ। अग्रजहरूको सहयोग र सद्भाव प्राप्त हुनाले महत्त्वाकांक्षी काम प्रारम्भ गर्न सकिनेछ। व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ। नोकरी तथा राजनीति गर्नेहरूलाई पनि विशेष लाभ मिल्ने देखिन्छ। तारिफयोग्य काम सम्पादन हुनाले मान–सम्मान प्राप्त गर्न सकिनेछ। लगनशीलताले अप्ठ्यारो ठानिएका काम समेत सम्पादन हुनेछन्। सोखले फजुल खर्च भने बढाउनेछ। केही धनमाल हराउने वा ठगीमा परिने समेत सम्भावना देखिन्छ। आफ्नो सुरक्षामा विशेष सावधानी अपनाउनुहोला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मिहिनेत गर्दा राम्रै उपलब्धि प्राप्त हुनेछ। पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ। इच्छाशक्ति एवं लगनशीलताले व्यावसायिक मार्ग अवलम्बन गर्नुका साथै धन आर्जनका विभिन्न स्रोतहरू प्राप्त हुनेछन्। व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ। प्रशस्त धन र बहुमूल्य धातुहरू संग्रह गर्ने मौका छ। अरूको विचारमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ। शक्तिका लागि धन खर्च हुनेछ। आत्मसम्मानका लागि संघर्षमा उत्रनुपर्ने स्थिति आउन सक्छ। स्वास्थ्यमा पनि टाउको र आँखाको समस्याले सताउन सक्छ। राजनीतिक पृष्ठमूमि केही कमजोर देखिए पनि नवीन कार्यको थालनी गर्ने समय छ।