काठमाडौं पुस, १९–
टिकापुर घटनाका मुख्य अभियुक्तको आरोपमा जेल सजाय काटिरहेका रेशम चौधरीले सांसदको सपथ लिएका छन्। कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित चौधरीले सिंहदरबारस्थित सभामुख कृष्णबहादुर महराको कार्यकक्षमा सपथ लिएका हुन् । सभामुख महराले बिहिबार दिउँसो ३ बजे चौधरीलाई सपथ खुवाएका हुन्। चौधरीले थारू भाषामा सपथ लिएका छन्।
सपथपछि सभामुख महराले सांसद चौधरीलाई फूलमाया लगाइदिए। चौधरीको सपथ कार्यक्रम राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेताहरू पनि उपस्थित थिए। उनीहरूले पनि चौधरीलाई फूलमाला लगाए।
२०७२ भदौ ७ गते टीकापुरमा भएको घटनामा ७ जना प्रहरीसहित ८ जनाको ज्यान गएको थियो। सो घटनामा संलग्न भएको भन्दै चौधरीविरूद्ध मुद्दा लागेको थियो। घटनापछि फरार रहेका चौधरीले सार्वजनिक नभइकनै प्रतिनिधि सभामा उम्मेद्वारी दिएका थिए।
उनी निर्वाचित भए पनि सपथ लिन पाएका थिएनन्। गत असारमा उनले जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए।
त्यसपछि प्रहरीले उनलाई जेल हालेको थियो। डिल्ली बजार जेलमा रहेका चौधरीलाई सपथ खुवाउन प्रहरीले सिंहदरबार ल्याएको थियो। सपथपछि उनलाई प्रहरीले फेरि कारागार लगेको थियो।
सपथ लिए पनि सांसद चौधरी संसद बैठक जाने छैनन्।
सपथ लिए पनि चौधरी संसद बैठकमा उपस्थित नहुने सचिव गोपालनाथ योगीले जानकारी दिए।
राष्ट्रिय जनता पार्टी नेपालले चौधरीलाई सपथ खुवाउनु पर्ने माग पटक पटक गर्दै आएको थियो। पुस १० गते भएको राजपा नेताहरूसँगको वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले माग पूरा गर्न ७ दिनको समय मागेका थिए।








