काठमाडौं माघ, ५–
शुक्रबार बिहान इलामबाट काठमाडौं ल्याइएका डा. गोविन्द केसीको स्वास्थ्य खस्किए पनि गम्भीर नरहेको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।
अस्पताल निर्देशक प्रा.डा. प्रेम खड्काले केसीको अवस्था बाहिर आएजस्तो गम्भीर नभएको बताए । तर, स्वास्थ्य कमजोर भएको उनको भनाइ छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
‘स्वास्थ्य जाँच गर्दा उहाँको अवस्था गम्भीर देखिएन,’ स्वास्थ्य रिपोर्टपछि डा. खड्काले भने, ‘शरीरमा रगतको मात्रा कमी छ । उहाँलाई चिकित्सकको निगरानीमा राख्नुपर्ने देखिन्छ ।’
इलाम अस्पतालमा अनशनमा रहेका केसीको अवस्था गम्भीर भएको भन्दै रातारात नाइटभिजन हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो । उनलाई आइसियूमा राखेर उपचार गरिएको छ । केसीको उपचारका लागि सातजना चिकित्सकको मेडिकल टिम गठन गरिएको छ । शिक्षण अस्पतालका आइसियू इन्चार्ज डा. सुवास आचार्यको नेतृत्वमा टिम गठन गरिएको हो ।
अनशनरत डा. केसीको स्वास्थ्य कमजोर बन्दै गएको भन्दै विवेकशील साझा पार्टीले सबैलाई एकजुट हुन आह्वान गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्टी प्रवक्ता डा. सूर्यराज आचार्यले उनको मागमा एकजुट हुन सबैलाई आग्रह गरेका हुन् । ‘केसीको जीवनरक्षाका लागि उनका मागको यथाशीघ्र र यथोचित ढंगले सम्बोधन गर्न सरकार र संसद्लाई हाम्रो पार्टी जोडदार आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सामाजिक सेवामा मूलतः राज्यको दायित्व हुनुपर्ने विवेकशील साझा पार्टीले जनाएको छ । डा. केसीको सत्याग्रहको मूल मर्म पनि यही भएकाले आफूहरूको साथ रहेको विवेकशील साझाले जनाउँदै आएको छ ।