काठमाडौं माघ, २१–
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले सरकारको विरोध गर्नेहरुविरुद्ध अरिंगाल झै आक्रमण गर्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएपछि आक्रमणको मुख्य निशानामा गगन थापा परेका छन् ।
गगन थापा एक्लै सरकारका लागि भारी हुन थालेपछि पार्टी अध्यक्ष केपी ओलीका समर्थकहरुले थापाविरुद्धको आक्रमण तेज बनाएका छन् । यस्तो आक्रमण विशेषगरी सामाजिक सञ्जालमा बढी छ । दूर्भाग्य त के छ भने गगन थापाविरुद्धका अधिकांश प्रहार भ्रामक भेटिएका छन् । यो प्रहार अरिंगाले कार्यकर्ताहरुका लागि ब्याक फायर हुने देखिएको छ । केही प्रहार वास्तविक भए पनि ती आजको दिनमा अर्थहीन सरह भएका छन् । हामीले केही तथ्य संकलन गरेका छौं । यसबाट वास्तविकता र भ्रम छुट्टयाउन पाठकहरुलाई पनि सहज हुनेछ ।
एक युवकले ज्ञानेन्द्रलाई ढोगेको तस्बीर यतिबेला सामाजिक सञ्जालमा ब्यापक छ । कांग्रेसमा गणतन्त्रको एजेन्डा स्थापित गर्ने असाध्यै कम नेतामा गगनको पनि नाम आउँछ । तर यिनै गगन थापा कुनै बेला राजालाई ढोगेर उनका प्रिय थिए भन्ने प्रचार गरिएको छ । तर वास्तवमा राजा ज्ञानेन्द्रलाई ढोग्ने व्यक्ति गगन नभएर राजेन्द्र जोशी नामका व्यक्ति रहेछन् । 
राजालाई ढोगेको भनेर प्रचार गरिए पनि विगतमा फर्केर हेर्ने हो भने नेकपाका नेता माधवकुमार नेपाल स्वयंले ज्ञानेन्द्र शाहलाई राज्यभिषेकको बेला दाम चढाएका थिए । दाम प्रमुख दलका सबैले चढाएका थिए । यसकारण माधवकुमार नेपाललाई पहिले माओवादी कार्यकर्ताले यहि फोटो प्रयोग गरेर दूष्प्रचार गर्थे । अहिले माधव नेपाल पनि आफ्नै पार्टीका नेता बनेपछि माओवादी कार्यकर्ता त्यसो गर्दैनन् ।
गगन थापाविरुद्ध अर्को तस्बीर यतिबेला सामाजिक सञ्जालमा भाइरल छ । त्यो फोटो जनआन्दोलनका बेला सडकमा सम्भवतः प्रहरीलाई ढुंगा हान्दै गरेको हुनुपर्छ । ढुंगामुढा गर्नु, प्रहरीको टाउको फुटाउनु हिंसा नै हो । यस्तो हिंसा गर्ने गगन थापाले अहिले ठूला कुरा गर्न मिल्छ ? भन्ने आशयमा यो तस्बीर भाइरल बनाइएको छ । तर कक्षामा पढाइरहेका शिक्षक मुक्तिनाथ अधिकारीलाई रुखमा बाँधेर गोली हानेर मार्ने, त्यतिले चित्त नबुझेर छुरा पनि धसेर मार्नेहरु यतिबेला नेपाली जनतामाथि शासन गरिरहेका छन् । गगन थापा स्वास्थ्य सेवा माफियाको हातमा जाने भयो भनेर कराइ रहेका छन् ।
प्रश्न उठ्छ के यो बेला अरिंगालको आक्रमणमा पर्नुपर्ने गगन थापा योग्य पात्र हुन् ? चिकित्सा शिक्षा विधेयकको सम्बन्धमा गगन थापाले राखेका धारणा कुनै पनि तथ्यभन्दा पर छैनन् । मार्सी चामलको भात खाएको गुन नेकपाका नेताहरुले चिकित्सा शिक्षा विधेयक पास गरेर तिरेका छन् । घाम झै छर्लंग यो कुराको ढाकछोप गगन थापाविरुद्ध अरिंगाल खन्याएर होला ?
माघ २१, २०७५ सोमबार
प्रकाशित मिति : माघ २१, २०७५ सोमबार ७ : २९ बजे








