नेपाल भलिबल संघ एनभीएले बंगलादेशमा हुने प्रतियोगिताको लागि पहिलो चरणको महिला खेलाडी छनोट गरेको छ । रेश्मा भण्डारीलाई बाहिर राख्दै एनभीएले एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल ९एभीसी सेन्ट्रल जोन० मा सहभागी हुने खेलाडीको लागि शनिबार पहिलो चरणको नाम छनोट गरेको हो ।
संघले यसअघि पहिलो चरणको प्रशिक्षणमा २० खेलाडीलाई संघले बोलाएको थियो । जसबाट दोस्रो चरणका लागि १५ खेलाडी नाम सार्वजनिक गरिएको हो । जसबाट अन्तिम १२ छनोट अर्को साता हुनेछ । संघले नियमित राष्ट्रिय टोलीबाट खेलिरहेकी रेश्मालाई बाहिर राखेको छ । विभागीय टोली एपीएफ क्लबमा आवद्ध रेश्माले क्लब स्तरमासमेत राम्रो प्रदर्शन दिन सकिरहेकी थिइनन् । संघले १३औँ दक्षिण एसियाली प्रतियोगिता र सेन्ट्रर जोन खेलेकी जानकी भण्डारी र पुनम चन्दलाईसमेत बाहिर राखेको छ ।
पहिलो चरणबाट प्रशिक्षक जगदिश भट्टले पुलिसकी शान्तिकला तामाङ र उषा विष्टलाईसमेत बाहिर राखेका छन् । पहिलो चरणमा आर्मीका पाँच खेलाडी छन् । यस्तै, पुलिसबाट चार खेलाडी रहदा न्यू डायमण्ड एकेडेमी र एपीएफ क्लबबाट समान ३-३ खेलाडी रहेका छन् । प्रशिक्षक जगदिश भट्टले १५ सदस्यीय टोलीमा लक्ष्मी चन्दलाई पहिलो पटक स्थान दिएका छन् । प्रतियोगिता २१ देखि २९ डिसेम्बरसम्म बंगलादेशमा आयोजना हुँदैछ । नेपाल साविक विजेतासमेत हो । नेपालले फाइनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।










