ए डिभिजन लिग: मनाङसँग पुलिस, च्यासल र ब्रिगेडले पोखरामा खेल्ने



कीर्तिमानी आठौँ पटकको सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले तीन क्लबलाई ‘घरेलु मैदान’ पोखरामा आतिथ्यता प्रदान गर्ने भएको छ । अखिल नेपाल फुटलब संघ एन्फाका केन्द्रीय सदस्य तथा मनाङ मर्स्याङ्दी क्लबका उपाध्यक्ष विजय घलेले लिगका तीन खेल पोखरामा खेलाउने निर्णय भएको न्युज कारखानालाई जानकारी गराए । उनले भने, ‘लिगका तीन खेल पोखरामा खेलाउने निर्णय भएको छ । हामीसँग पोखरा जान तीन क्लब तयार छन् ।’

घलेका अनुसार नेपाल पुलिस क्लब, च्यासल युथ क्लब र ब्रिगेड व्वाइज क्लब पोखरामा खेल्ने छन् । मनाङले छैटौँ, सातौँ र आठौँ चरणका आफ्ना तीन खेल पोखरामा लैजाने भएको छ । मनाङले पोखरा रंगशालालाई घरेलु मैदान बनाएसँगै ए डिभिजन लिगका आफ्ना पोखरामा खेल्ने तयारी गरेको थियो । मनाङले सहभागी १४ क्लबलाई पत्र पठाउँदा तीन क्लब पोखरा जान तयार भएका हुन् । अब, मनाङले एन्फासँगको पूर्व सम्झौताअनुसार तीन क्लबको पोखरा जाने आउने र होटल खर्च व्वयस्था गर्नेछ भने मैदानबाट आएको रनिङ बोर्ड र टिकटसहित पार्किङबाट उठेको पैसा प्राप्त गर्नेछ ।

खेलहरू यसअघि तय भएकै मितिमा हुने छन् । खेलको समय भने तोकिएको छैन । एन्फाले हालसम्म चौथो चरणसम्मको खेल तालिका सार्वजनिक गरेको छ । लिगको तेस्रो चरण खेलहरू बुधबारबाट सकिएको छ ।मनाङ तीन खेलमा  दुई जित र एक बराबरीको नतिजापछि ७ अंकसहित तेस्रो स्थानमा छ । समान खेलमा समान ७ अंक जोडेको सातदोबाटो युथ क्लब र मच्छिन्द्र फुटबल क्लब गोलअन्तरका आधारमा क्रमशः पहिलो र दोस्रो स्थानमा छ ।

समान पाँच अंक बनाएका संकटा, नेपाल पुलिस र आर्मी क्रमशः चौथो, पाँचौ र छैटौँ स्थानमा छन् । यता, समान ४ अंक रहेका थ्रिस्टार, ब्रिगेड र च्यासल युथ क्रमशः सातौं, आठौं र नवौँ स्थानमा रहँदा समान २ अंकका फ्रेण्ड्स, एनआरटी र हिमालयन शेर्पा क्लब १०औँ, ११औँ र १२औँ स्थानमा छन् । विना कुनै अंक जावलाखेल युथ र एपीएफ क्लब क्रमशः १३औँ र १४औँ स्थानमा रहँदै रेलिगेसन जोनमा छन् । चौथो चरणका खेल भोलि ९शुक्रबार०बाट नै सुरू हुने छन् ।

प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार  १ : १२ बजे