अध्यक्ष प्रचण्डसहित आधादर्जन नेतालाई कोरोनाभाइरस संक्रमण भएपछि नेकपा माओवादी केन्द्रले हालै सम्पन्न पार्टी महाधिवेशनका १७ सय सहभागी सबैलाई भाइरस परीक्षण गर्ने भएको छ । पार्टी कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार सबै प्रतिनिधिलाई पीसीआर परीक्षण गराउन र स्वास्थ्य मापदण्ड अपनाउन कडाइपूर्वक निर्देशन दिएको बताए । कर्मचारीलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि कोटेश्वरको पेरिसडाँडास्थित माओवादीको पार्टी कार्यालयमा बिहीवारदेखि नै अतिआवश्यक बाहेकका काम बन्द गरिएको छ।
प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठसहित आधा दर्जन नेता र पार्टी कार्यालयका कर्मचारीसहित एक दर्जनलाई कोभिड पुष्टि भइसकेको ढकालले जानकारी दिए। प्रचण्डका स्वकीय सचिव रमेश मल्ललाई पनि सङ्क्रमण पुष्टि भएको छ।
पुस ११ गतेदेखि १८ सम्म काठमाण्डूमा चलेको माओवादीको आठौँ महाधिवेशनमा १,७०० बढी प्रतिनिधि सहभागी थिए। महाधिवेशनपछि एकसाथ धेरैजनालाई सङ्क्रमण देखिएपछि सबै प्रदेश समितिमार्फत तर्कता अपनाउन र परीक्षण गर्न भनिएको ढकालले बताए ।










