स्पिनर सागर पहिलो पटक राष्ट्रिय क्रिकेट टोलीमा



युवा स्पिनर सागर ढकालले पहिलो पटक राष्ट्रिय क्रिकेट टोलीमा स्थान बनाएका छन् । विभागीय नेपाल पुलिस क्लबका खेलाडी समेत रहेका सागर पहिलो पटक टोलीमा स्थान बनाउँदै ओमान भ्रमणमा निस्कने भएका हुन् ।

प्रशिक्षक पुबुदु दासानायकेले २० वर्षीय सागरलाई अन्तिम दिन समेट्दै १७ सदस्यीय टोली आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटका लागि घोषणा गरेका हुन् । यसअघि लोकेश बम र विवेक यादवले समेत पहिलो पटक टोलीमा स्थान बनाएका थिए ।

नेपालको यु–१९ राष्ट्रिय क्रिकेट टोलीबाट समेत खेलेका सागर पछिल्लो समय घरेलु क्रिकेटमा समेत उच्च प्रदर्शन कायम गर्दै आईरहेका छन् । अघिल्लो महिना नेपाल पुलिस क्लबलाई टी–२० प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा उपविजेता बनाउन महत्वपूर्ण भूमिका खेलेका सागरले गत असोजमा सम्पन्न एभरेष्ट प्रिमियर लिग ९इपीएल० मा चितवन टाईगर्सलाई उपाधि जिताएका थिए । सागर इपीएल क्रिकेटका ‘प्लेयर अफ दि सिरिज’ चुनिएका थिए ।

सागर सम्मिलित नेपाली टोलीले आगामी अक्टोबर(नोभेम्बरमा अष्ट्रेलियामा आयोजना हुने विश्वकपका लागि ६ फागुनदेखि ओमानमा ग्लोबल छनोट खेल्दैछ । ग्लोबल छनोटमा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल सहित क्यानडा, ओमान र फिलिपिन्स छन् । समूह ‘बी’ मा बहराइन, जर्मनी, आयरल्यान्ड र यूएई छन्। नेपालले ६ फागुनमा आयोजक ओमान, ७ फागुनमा फिलिपिन्स र ९ फागुनमा क्यानडाविरुद्ध खेल्नेछ ।

दुवै समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा प्रवेश गर्नेछन् । १२ फागुनमा हुने फाइनल खेलका दुई प्रतिस्पर्धी टोली विश्वकपका लागि छनोट हुनेछ ।

प्रकाशित मिति : माघ २५, २०७८ मंगलबार  ३ : ३४ बजे