कांग्रेसमा विशेष महाधिवेशनका लागि पहल थाल्ने ५६ जिल्लाका सभापतिको चेतावनी, केन्द्रीय समितिको निर्णय पुनर्विचार गर्न माग



काठमाडौं फागुन, २१–
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसभित्र यतिवेला विवाद मिल्नुको सट्टा झन् बल्झिने अवस्थामा पुगेको छ । पाटीृ सभापति शेरबहादुर देउवाले महासमिति बैठकमा दिएको वचनविपरीत कांग्रेस केन्द्रीय समितिबाट बहुमतको बलमा विधान पास गराएपछि कांग्रेसमा थप विवाद सिर्जना भएको हो । पार्टी सभापति देउवाले आफ्नो बचन विपरित विधान पास गरेपछि नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले विशेष महाधिवेशनका लागि पहल थाल्ने चेतावनी समेत दिएका छन् ।
गत मंशिर अन्तिम साता काठमाडौंमा सम्पन्न महासमिति बैठकमा केन्द्रीय सदस्यहरु पनि तल्लो तहबाट चुनिएर आउनुपर्ने र आरक्षण कोटा एक तहमा एक पटक मात्र हुनुपर्ने उनीहरुको माग थियो ।

सभापति देउवाले महासमिति बैठक समापन गर्ने क्रममा पार्टी दुवै माग सम्बोधन गर्ने आश्वासन दिएका थिए । तर, केही दिनअघि केन्द्रीय कार्यसमितिले त्यसविपरीत केन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने र आरक्षण कोटामा एउटै व्यक्ति दोहोरिन सक्नेगरी विधान पास गरेको थियो ।

कांग्रेस जिल्ला सभापतिहरुले महासमितिबाट पास भएको विषय केन्द्रीय समितिले उल्टाएको भन्दै आश्चर्य व्यक्त गरेका छन् । कांग्रेसका जिल्ला सभापतिहरुले केन्द्रीय समिति बैठकले पारित गरेको विधानको विरोधमा संयुक्त विज्ञप्ति समेत निकालेका छन् । उनीहरुले जारी गरेको विज्ञिप्तिमा भनिएको छ, ‘महासमितिभन्दा ठूलो केन्द्रीय कार्य समिति हुन सक्दैन भन्ने कुरालाई पूर्णतः उपेक्षा गरी पार्टी सभापतिजस्तो गरिमामय पदको विश्वसनीयता समेत समाप्त गर्ने काममा केही नेताहरु देखापर्नु दुर्भाग्यपूर्ण हो ।’

उनीहरुले केन्द्रीय कार्यसमितिको निर्णय पुनर्विचार गर्न माग गरेका छन् । केन्द्रीय समितिले पारित गरेको विधानको विरोधमा
५६ जिल्लाका सभापतिहरुले संयुक्त विज्ञेप्ति जारी गरेका हुन् ।

प्रकाशित मिति : फाल्गुन २१, २०७५ मंगलबार  ६ : ०८ बजे