एथलेटिक्स टोली आज भारत जाँदै



दक्षिण एसियाली क्रस कन्ट्री एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली आज मंगलबार भारतको नागाल्यान्ड प्रस्थान गर्दैछ ।१२ चैतमा हुने प्रतियोगितामा नेपालबाट सिनियरमा ३-३ तथा जुनियरमा ३-३ पुरुषरमहिला गरी १२ खेलाडी सहभागी हुने छन् ।

सिनियरको पुरुषमा मुकेशबहादुर पाल, सन्तोषनाथ योगी र सन्तोषविक्रम विष्ट तथा महिलामा राजपुरा पछाईं, फुलमति राना र बन्दना बुढा रहेका छन् । उनीहरुले १० किलोमिटर दूरीमा व्यक्तिगत र टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।

जुनियरको पुरुषमा बादल कार्की, अतुल गोरिया र दीपेन्द्र बोहरा तथा महिलामा समिता बुढा, राममाया कार्की र विमला कार्की छन् । खेलाडीले टिम र व्यक्तिगत स्पर्धामा खेल्ने छन् । पुरुषको ८ किलोमिटर र महिलाको ६ किलोमिटर दूरीमा खेल हुने छ ।

अफिसियलमा नेपाल एथलेटिक्स संघका सचिव आरके विष्ट र प्रशिक्षकमा कान्ती यादव छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्यसचिव कुलबहादुरले सोमबार नै एक कार्यक्रमबीच बिदाइ गरिसकेका छन् ।

प्रकाशित मिति : चैत्र ८, २०७८ मंगलबार  ८ : ३४ बजे