रोहितको शतकका बाबजुद नेपाल पीएनजीसँग ६ रनले पराजित



युवा ब्याटर रोहित कुमार पौडेलको शतक प्रेरित नेपाल घरेलु मैदानमा पपुवा न्युगिनी (पीएनजी) विरुद्धको पहिलो खेलमा ६ रनले पराजित भएको छ ।२९३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर मात्र २८६ रन बनाउन सक्यो । रोहितले १२६ रनको कीर्तिमानी शतकीय इनिङमा खेले पनि नेपाल जितबाट टाढा रह्यो ।

रोहितको यो अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक हो । यस्तै रोहित एकदिवसीयमा सर्वाधिक रन बनाउने पहिलो नेपाली खेलाडी बने ।उनले १०७ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै नेपाललाई बलियो स्थितिमा पुर्‍याएका थिए ।नेपालका आरिफ शेखले ३४, कुशल भुर्तेलले ३२, सोमपाल कामी र कमल सिंह ऐरीले समान १८ रन बनाउँदा भिम शार्कीले १७ रन बनाए ।

पीएनजीका नोरमान भानुअले ३ विकेट लिए । यस्तै चार्ल्स अमिनी, असद भालाले समान २र२ विकेट लिए ।त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९२ रन बनायो ।पीएनजीका चार्ल्स अमिनीले सर्वाधिक ७७ रनको इनिङ खेले । यस्तै कप्तान असद भालाले ६० रनको योगदान गरे । ओपनर टोनी उराले ३८ रन बनाउँदा रिले हेकुरेले ३१, नोरमान भानुअले ४७ रन बनाए ।

नेपालका कमल ऐरी, सोमपल कामी, दिपेन्द्र सिंह ऐरीले समान २ विकेट लिए । कप्तान सन्दीप लामिछाने र आरिफ शेखले समान १ विकेट हात पारे ।अब, नेपालले पीएनजीविरुद्ध भोलि शनिबार नै दोस्रो खेल खेल्नेछ ।

प्रकाशित मिति : चैत्र ११, २०७८ शुक्रबार  ५ : ५६ बजे