‘सदनमै सङ्घीयता विरोधी आवाज उठ्यो, त्यसलाई प्रतिबन्ध लगाऔँ’



सिङ्गो मुलुक सङ्घीयतालाई सबल र सुदृढ बनाउँदै अगाडि बढिरहेको अवस्थामा संसद्मै सङ्घीयता विरोधी अभिव्यक्ति आउन थालेको भन्दै त्यसलाई प्रतिबन्ध लगाउनुपर्ने आवाज उठेको छ ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद प्रमोद साहले जनताको बलिदानबाट प्राप्त सङ्घीयतालाई कमजोर बनाउने अभिव्यक्ति दिने छुट कसैलाई पनि नभएको बताए ।

“सङ्घीयता त्यत्तिकै आएको होइन, उत्पीडनमा रहेका जनताको त्याग र बलिदानबाट आएको सङ्घीयतालाई कसैले कमजोर बनाउन सोचेको छ भने त्यो दिवा स्वप्न मात्र हो”, उनले भने, “संसद्मै केही पार्टीका नेताले सङ्घीयता विरोधी अभिव्यक्ति दिएका छन्, म त्यसप्रति खेद प्रकट गर्दछु, सङ्घीयतालाई कमजोर बनाउने विषय संसद्मा उठ्छ भने त्यसलाई प्रतिबन्ध लगाउनुपर्छ ।” उनले त्यस्ता आवाजलाई कुण्ठित गराउन सभामुखमार्फत रुलिङ गर्न माग गर्नुभयो ।

मुलुक सङ्घीयतामा गएकै कारण राज्यका निकायमा महिला, दलित, जनजाति, उत्पीडित तथा उपेक्षित वर्गको प्रतिनिधित्व बढेको भन्दै उनले सङ्घीयतालाई बलियो बनाउन सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए। प्रतिपक्षी दलका केही नेताले संसद्मै सङ्घीयता विरोधी आवाज उठाउन थालेको भन्दै उनले उत्पीडित जनता आफैँले सङ्घीयताको रक्षार्थ कुनै कसर बाँकी नराख्ने बताए ।

सांसद लालबाबु पण्डितले मुलुककै जेठो त्रिभुवन विश्वविद्यालयभित्र देखिएको बेथितिको अन्त्य गर्न माग गर्दै सत्तारुढ दल निकट विद्यार्थी सङ्गठनबाट पटकपटक तालाबन्दी भइरहेकामा आश्चार्य व्यक्त गरे । मुलुक सङ्घीयतामा गएको लामो समय भइसक्दा पनि कर्मचारी समायोजनको काम नसकिँदा सेवा प्रवाहमा समस्या भएको उल्लेख गर्दै उनले तत्काल सङ्घीय निजामती ऐन ल्याउन माग गरे ।

संविधानले तीन तहको सङ्घीय संरचनाको व्यवस्था गरे पनि प्रशासनिक सङ्घीयता कार्यान्वयन नहुँदा सङ्घीयतामाथि नै प्रश्न उठेको उनले बताए ।

सांसद उमाशङ्कर अरगरियाले समयमै मल, बीउ, खाद र सिँचाइको व्यवस्था गराउन किसानले माग गर्दै आए पनि किसानका समस्या समाधान गर्न सरकारको ध्यान अझै नपुगको बताए । “देशभर किसानको बेहाल छ”, उनले भने, “किसानका नाममा राजनीति भइरहेको छ, तर किसानको समस्या अझै सामाधान भएको छैन ।”

सांसद सुरेशकुमार राईले उदयपुरको घुर्मी र सुनसरीको चतरा जोड्ने सडकको निर्माण छिटो सम्पन्न गर्न आग्रह गरे । सांसद प्रकाश स्नेही रसाइलीले दैलेखको गुराँस गाउँपालिकामा करारका कर्मचारी हटाउँदा भएको गोली प्रहारको घटनाको सत्यतत्थ्य छानविन गर्न माग गरे ।

सांसद प्रेम सुवालले दैनिक उपभोग्य तथा अत्यावश्यक वस्तु सरकारी स्वामित्वमा उत्पादन र वितरण नगरी मुलुक आत्मनिर्भर हुन नसक्ने उल्लेख गर्दै बन्द भएका औषधि, कपडा उद्योग तत्काल सञ्चालन गरिनुपर्ने बताए ।

सांसद डा शिवमाया तुम्बाहाम्फेले आफ्ना अनुयायीलाई बलात्कारको आरोप लागेका कृष्ण गिरीले पशुपति क्षेत्रमा सञ्चालन गरेको धार्मिक कार्यक्रममा सरकारका उच्चपदस्थ व्यक्तिको सहभागिता देखिएको भन्दै यसबाट पीडित पक्ष झन् प्रताडित भएको बताए । “बलात्कार आरोपीलाई गुरु मानेर हिँड्ने सरकारका मन्त्री र महान्यायाधिवक्ताको कामप्रति एमालेको आपत्ति छ, यसले पीडितलाई झन् पीडा थपेको छ”, उनले भने ।

सांसद लालबहादुर थापाले गत असार २३ गते बूढीगङ्गा नगरपालिकाको पुनःनिर्वाचनमा जनताले नेकपा ९एमाले० लाई विजयी गराएको जनाउँदै लोकतन्त्रमा नागरिक नै सबैभन्दा शक्तिशाली हुने प्रमाणित भएको बताए ।रासस

प्रकाशित मिति : श्रावण १३, २०७९ शुक्रबार  २ : ५४ बजे