परराष्ट्रमन्त्री नारायण खड्का मंगलबार चीन भ्रमणमा जाँदै छन् । मन्त्री खड्का ११ सदस्यीय टोलीको नेतृत्व गर्दै चीनको तीनदिने भ्रमणमा जान लागेका हुन् ।
उनले चिनियाँ समकक्षी वाङ यीसँग बुधबार चीनको सान्तोङ प्रान्तको छिङ्ताओमा भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारि दिएकि छन् । यो भ्रमण ‘रेसिप्रोकल’ हो । ‘केही समयअघि चीनबाट परराष्ट्रमन्त्रीजी आउनुभएको थियो, उहाँकै निम्तोमा नेपालबाट भ्रमण हुन लागेको हो,’ उनले भनिन्, ‘भ्रमणका क्रममा नेपाल–चीन सम्बन्धका यावत् पक्षमा छलफल हुन्छ ।’
खड्काको भ्रमण ‘दुई मुलुकबीच विश्वासको वातावरण बढाउन’ केन्द्रित रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएपछि पहिलोपटक उच्च तहमा चीनको भ्रमण हुन लागेको हो ।














