पोखरामा सोलो प्याराग्लाइडिङ फेरी उडाउन अनुमति



पोखरा चैत, १३–
पोखरामा लगातार दुर्घटना भएपछि रोक लगाईका सोलो प्याराग्लाइडिङ फुकुवा गरिएको छ । २० दिनअघि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सोलो प्याराग्लाइडिङ २० मा रोक लगाएको थियो । चैत १० गते बसेको क्यान केन्द्रीय कार्यालयको बैठकले उडान फुकुवा गर्ने निर्णय गरेको हो ।

नागरिक उड्डयन प्राधिकरण पोखरा कार्यालयले पछिल्लो समय सोलो उडानको क्रममा लगातार दुर्घटना हुन थालेपछि फागुन २१ गतेबाट उडान बन्द गरेको थियो । प्राधिकरणले सोलो प्याराग्लाइडरले नियमभन्दा बाहिर गएर उडान भर्ने गरेको भन्दै उडान बन्द गरेको थियोे ।

सोलो प्याराग्लाइडिङ दुर्घटनाबाट फागुन अन्तिम साता २ जना विदेशीको ज्यान गएको थियो भने २ जना घाइते भएका थिए ।

प्राधिकरणले सोलो उडानका बेला दुर्घटना भएको भन्दै फ्रन्टियर्स प्याराग्लाइडिङ र ब्लु स्काई प्याराग्लाइडिङको उडान अनुमतिसमेत रद्द गरिदिएको थियो ।

प्रकाशित मिति : चैत्र १३, २०७५ बुधबार  ६ : ४५ बजे